पोखरा । पोखरा उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा उद्योगतर्फको उपाध्यक्ष पदका लागि बहालवाला कार्यसमिति सदस्य ललितबहादुर कुँवर र सौगात थापाबीच प्रतिस्पर्धा हुने भएपछि यो पदको निर्वाचनप्रति व्यवसायीहरूको चासो बढेको छ।

संघको कार्यसमितिमा रहेर दुवै उम्मेदवारले संस्थागत अनुभव हासिल गरिसकेका छन्। तर, निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारको विगतको सक्रियता, संस्थालाई दिएको समय, व्यवसायीहरूसँगको सम्बन्ध र आगामी दिनमा संघका लागि दिन सक्ने योगदानलाई लिएर व्यवसायी तहमा मूल्यांकन सुरु भएको छ।

यस प्रतिस्पर्धामा कुँवरलाई संघको नियमित गतिविधिमा समय दिने र संस्थागत काममा सक्रिय रहने उम्मेदवारका रूपमा चर्चा गरिएको छ। संघमा प्रवेश गरेपछि उनले आफ्नो तर्फबाट समय उपलब्ध गराउने तथा आवश्यक स्रोत जुटाउने काममा समेत सक्रियता देखाउँदै आएको उनी निकट व्यवसायीहरूको दाबी छ।

कुँवरका समर्थकहरू निर्वाचनमा व्यक्तिगत वा पारिवारिक पृष्ठभूमिभन्दा उम्मेदवारको संस्थागत योगदान र व्यवसायीका समस्यामा निरन्तर जोडिन सक्ने क्षमतालाई प्राथमिकता दिनुपर्ने बताउँछन्। ‘संघको पद भनेको जिम्मेवारी पनि हो। नियमित रूपमा समय दिन सक्ने, व्यवसायीका समस्या सुन्ने र संस्थाको काममा सक्रिय हुने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ,’ एक व्यवसायीले भने।

उता, सौगात थापा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री बिन्दुकुमार थापाका छोरा भएकाले उनको उम्मेदवारीलाई पनि विशेष चासोका साथ हेरिएको छ। उनको पारिवारिक पृष्ठभूमि र संघसँगको सम्बन्धका कारण निर्वाचनमा व्यक्तिगत प्रभावसमेत जोडिन सक्ने चर्चा व्यवसायीमाझ छ।

तर, यही प्रतिस्पर्धाबीच थापाले विगतमा कार्यसमितिमा निर्वाह गरेको भूमिकालाई लिएर पनि प्रश्न उठेका छन्। पोखरा उद्योग वाणिज्य संघले केही दिन अगाडि सार्वजनिक गरेको विवरणमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको बैठक र विभिन्न कार्यक्रममा भएको सहभागिता उल्लेख गरिएको छ।

उक्त विवरणअनुसार दुई वर्षे कार्यकालमा भएका ३१ वटा कार्यसमिति बैठकमध्ये कुँवर २५ वटा बैठकमा सहभागी भएका छन्। यो करिब ८० प्रतिशत उपस्थिति हो। थापा भने ५ वटा बैठकमा मात्र सहभागिता देखिन्छ, जुन करिब १६ प्रतिशत हो।

त्यसैगरी संघले सञ्चालन गरेका ९५ वटा विभिन्न कार्यक्रममध्ये कुँवर ४५ वटा कार्यक्रममा सहभागी भएको विवरणमा उल्लेख छ। यो करिब ४७ प्रतिशत सहभागिता हो। थापाको सहभागिता भने ४ वटा कार्यक्रममा रहेको देखिन्छ, जुन ५ प्रतिशतभन्दा कम हो। यसका अलावा अघिल्लो कार्यकालमा पवनकुमार प्रजापती अध्यक्ष रहँदा मनोनित सदस्य रहेका थापाले १५ वटा बैठकमध्ये ६ वटा बैठकमा सहभागिता जनाएको देखिएको छ।

यही अभिलेखलाई आधार बनाएर केही व्यवसायीले आगामी नेतृत्व चयन गर्दा उम्मेदवारले विगतमा संस्थालाई दिएको समय र सक्रियतालाई पनि मूल्यांकनको आधार बनाउनुपर्ने धारणा राखेका छन्। यद्यपि, बैठकमा उपस्थिति मात्रलाई उम्मेदवारको सम्पूर्ण कार्यसम्पादनको मापदण्ड मान्न नहुने मत पनि छ। उम्मेदवारले संघबाहिर व्यवसायी तथा उद्योगीका बीचमा गरेको समन्वय र योगदानलाई समेत हेर्नुपर्ने व्यवसायीहरू बताउँछन्।

यस हिसाबले कुँवरका लागि उनको मुख्य बल संस्थागत सक्रियता र समय दिन सक्ने प्रतिबद्धता बन्न सक्ने देखिएको छ। लामो समयदेखि व्यवसायिक क्षेत्रमा सक्रिय रहेका कुँवरले संघको कार्यसमितिमा रहेर प्राप्त गरेको अनुभवलाई उद्योग क्षेत्रको नेतृत्वमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।

कुँवर र थापा दुवै व्यावसायिक रूपमा समान प्रकृतिका क्षेत्रमा संलग्न हुनुका साथै एउटै सामाजिक तथा व्यावसायिक वृत्तमा परिचित भएकाले पनि उनीहरूबीचको प्रतिस्पर्धालाई नजिकबाट हेरिएको छ। त्यसैले यो निर्वाचनमा व्यक्तिगत सम्बन्धभन्दा व्यवसायी मतदाताको प्राथमिकता र उम्मेदवारको संस्थागत छवि निर्णायक बन्न सक्ने अनुमान गरिएको छ।

उद्योगतर्फको उपाध्यक्ष पदमा कसलाई अघि बढाउने भन्ने निर्णय मतदाताको हातमा छ। तर, हालको चर्चालाई हेर्दा कुँवरले आफूलाई संघलाई समय दिन सक्ने, संस्थागत काममा सक्रिय र उद्योगी–व्यवसायीका समस्यासँग निरन्तर जोडिन सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्ने अवसर पाएका छन्।

आसन्न निर्वाचनले कुँवरको संस्थागत सक्रियता र थापाको पारिवारिक तथा व्यावसायिक प्रभावमध्ये कुन पक्षलाई व्यवसायी मतदाताले बढी महत्व दिन्छन् भन्ने स्पष्ट पार्नेछ। त्यसैले उद्योग उपाध्यक्षको प्रतिस्पर्धालाई संघको निर्वाचनकै चासोपूर्ण प्रतिस्पर्धामध्ये एकका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0