पोखरा । पोखरा–११ फूलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयका विद्यार्थीले रसुवा, भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित पीडितका लागि १६ हजार १६ रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलको पहलमा विद्यार्थीबाट उक्त रकम संकलन गरिएको हो। राहत संकलनका क्रममा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीलाई आफ्नो इच्छाअनुसार सहयोग गर्न आग्रह गरिएको थियो। त्यसपछि विद्यार्थीले खाजा खान ल्याएको रकमसमेत बाढीपीडितका लागि सहयोग गरेका हुन्।
विद्यालयको प्रार्थना सभामा जुनियर रेडक्रस सर्कलकी शिक्षक नायक शर्मिला बराल सापकोटाले बाढीका कारण भएको जनधनको क्षतिबारे विद्यार्थीलाई जानकारी गराउँदै विपत्तिको समयमा सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताइन्।
सहयोग संकलनपछि विद्यालयका प्रधानाध्यापक बालकृष्ण बास्तोलाले अकल्पनीय बाढीका कारण भएको क्षतिप्रति विद्यालय परिवार दुःखी भएको बताए। उनले विद्यार्थीमा सहयोगी भावना विकास गराउन जुनियर रेडक्रस सर्कलले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गरे।
प्रधानाध्यापक बास्तोलाले आगामी दिनमा पनि सर्कलको पहलमा थप राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताए।
विद्यालयका लेखापाल हरिश्चन्द्र बास्तोलाका अनुसार देश अहिले प्राकृतिक विपत्तिका कारण अत्यन्त दुःखद र पीडादायी अवस्थामा गुज्रिरहेको छ। यस्तो अवस्थामा विपत्तिबाट प्रभावित नागरिकलाई मानवीय तथा भौतिक सहयोग आवश्यक पर्ने भएकाले सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने उनले बताए।
विद्यार्थीले आफ्नै खाजा खर्चबाट रकम बचाएर विपद् प्रभावितका लागि सहयोग गर्नुले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावना विकासमा सकारात्मक सन्देश दिएको विद्यालयले जनाएको छ।















