पोखरा । २३ औँ आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा १५ लाख भन्दा बढी घाटा भएको छ । आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन मार्फत आयव्यय सार्वजनिक गर्दै प्रतियोगिता घाटा भएको जनाएको हो ।
प्रतियोगितामा ९९ लाख ९५ हजार ४ सय ५१ रुपैयाँ आम्दानी भएकोमा १ करोड १५ लाख ३३ हजार ९ सय १७ रुपैयाँ खर्च भइ १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ न्यून खर्च अर्थात घाटा भएको क्लबले जनाएको छ ।
आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीको विदेश पलायन फुटबलको चार्म घट्नुको कारण मानेको सहाराले यसलाई मसिनो गरेर विश्लेषण तथा अध्ययन गरेर आगामी रणनीति तय गर्न समिति बनाउने र सोही समितिको प्रतिवेदनको निष्कर्षलाई ध्यान दिएर अगाडि बढ्ने क्लब अध्यक्ष केशवराज बरालले खुलाए ।
गत माघ ८ गतेदेखि माघ २० गतेसम्म आयोजना भएको प्रतियोगितामा कुल १२ टिमले सहभागिता जनाएका थिए । ‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौ’ भन्ने उद्देश्य अनुरूप सहारा क्लब पोखराद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरू सम्मीलित सूर्य बहादुर केसी. स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ यो प्रतियोगिताको आयोजना गरेको थियो । एकेडेमीमा हाल ३० जना बालक आश्रित रहेका छन् ।
२०५५ सालमा स्थापित सहारा क्लब पोखराले आयोजना गर्ने यस प्रतियोगितालाई पहिलो संस्करणदेखि अहिलेसम्म निरन्तर रुपमा मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यले क्लबले यस प्रतियोगितालाई निरन्तर आयोजना गरिरहेको छ ।२३ औँ संस्करणको प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ र उपविजेता थ्री स्टार क्लब ललितपुर रहेका थिए ।