पोखरा । पोखरामा भोलि शुक्रबारदेखि नाटक ‘जानकी’ मञ्चन हुँदैछ । पद्माप्रेम थिएटरको प्रस्तुतिमा मञ्चन हुने नाटकको लागि सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सावित्रा पाठक सबुले जानकारी दिइन् । गत वर्षको माघमा नाटक धनिरामको गोरु मञ्चन मार्फत पोखरेली रङ्गमञ्चमा उदाएको पद्माप्रेम थिएटरले दोस्रो प्रस्तुतीको रुपमा यो नाटकको मञ्चन गर्न लागेको हो।
पोखरा थिएटरको गन्धर्व नाटकघरमा असोज ५ गतेसम्म हरेक साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे समेत मञ्चन हुनेछ । सावित्रा पाठक सबुले लेखेको नाटकको निर्देशन गोविन्द पराजुली र शीतला अधिकारीले गर्नेछन् । पद्माप्रेम थिएटरको पहिलो वार्षिकोत्सवको अवसरमा मञ्चन गर्ने नाटकबाट दर्शकको साथ पाउने टिमको विश्वास छ ।
नाटकमा गोविन्द पराजुली, विभु प्रसाद भुसाल, सावित्रा पाठक सबु, ज्योति हमाल, शीतला अधिकारी, बुद्धिसागर खनाल, सुमन कार्की, मुना गुरुङ, विवेक गुरुङ, अभिषेक भुसाल, प्रदिप गौतम प्रमोद र अलिसा थापाको अभिनय हेर्न पाइनेछ । जय चापागाईंको सङ्गीत रहने नाटकको पोष्टर डिजाइन सन्दिप तिवारीले गरेका छन् । नाटक मञ्चनको लागि केही सहयोगी संस्थाको साथ पद्माप्रेम थिएटरले पाएको छ।
‘यो नाटक यही समाजमा बसेर यही समाजको, आफन्तको, श्रीमानको तुच्छता सहेर पनि आफ्नो जिम्मेवारी निभाउने महिलाको कथा हो तर यही समाजमा मिलेर, जस्तो कठिन समस्याका पनि पार गरेर बस्ने परिवारको पनि कथा हो ।’ अध्यक्ष पाठकको भनाई छ ।
नाटकका निर्देशक गोविन्द पराजुली भन्छन्, ‘समग्रमा भन्नुपर्दा यो हाम्रो कथा हो, यसले हाम्रो समाज बोल्छ, समाजको यथार्थ बोल्छ । मुख्य कुरा यसले हाम्रो कृषिको महत्वलाई दर्साउँछ ।’निर्देशक शीतला अधिकारीले नाटकका कलाकार र पाश्र्व मञ्चमा समेत मिहिनेतका साथ काम भइरहेकाले नाटकलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् ।