पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेपनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणाली थप विकसित भई नेपाल नजिक सर्ने सम्भावना देखिएको छ। उक्त प्रणालीको प्रभावले बिहीबार साँझ देखि शनिबार बिहानसम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना भएको भन्दै सतर्कताको लागि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ ।
विभागले बिहीबार साँझ देखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने जनाएको छ । यो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। विभागले जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण सार्वजनिक गरेको छ।
वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।