पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले सत्ता भए अग्रगमन नभए पश्चगमन देख्ने दृष्टिदोष नपाल्न माओवादी केन्द्रलाई आग्रह गरेका छन् । बुधबार गण्डकी प्रदेश सभा बैठकमा माओवादी केन्द्रले केही विषय उठान गरेर सत्तारुढ दलको जवाफ मागेपछि अधिकारीले यस्तो आग्रह गरेका हुन् ।
‘अस्थिरताको सूत्रपात कहाँबाट भयो? सत्ता बाहेक केही पनि नदेख्ने, जे भएपनि हुने, सत्ता भए अग्रगमन सत्ता नभए पश्चगमन देख्ने दृष्टिदोष पनि हामी नपालौँ’ उनले भने ।
अधिकारीले जनतामा देखिएको निराशालाई आशामा बदल्न एमाले र काङ्ग्रेसबीच सत्ता समीकरण भएको बताए । सत्ता समीकरण भएपनि प्रदेशमा सुशासन कायम गर्न, राजस्व वृद्धि गर्न, बजेट विनियोजन र क्रमागत योजनालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरी सबै दल एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । जनताले अस्थिरता नरुचाएको कारण अहिलेको समीकरण बनेको दावी उनको थियो ।
केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि केही सकारात्मक सङ्केत देखिएको भन्दै १८ वर्षमा हुन नसकेको टीआरसीको काम अहिलेको सरकारले गर्नु महत्त्वपूर्ण उपलब्धि भएको सुनाए । हाल भएको समानुपातिक, समावेशिता कसैको अभयदान नभएको, अनुदान नदिएको र अनुकम्पाले नआएको भन्दै अधिकारीले नेपाली जनताले लेखेको संविधान रहेको उल्लेख गरे ।
उनले सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी, समानुपातिक, गणतन्त्रको रक्षाका लागि अहिलेका सत्तासीन दलहरू केन्द्रदेखि प्रदेशसम्म रक्षा कवच बन्ने प्रष्ट पारे । संविधान संसोधन सबैको सहमतिमा हुने भन्दै जनताको भावनामा रोटी सेकाउने काम नगर्न आग्रह गरे ।
‘यो संविधानका समानुपातिकता, समावेशिता, धर्म निरपेक्षता र सङ्घीयता माथि कसैले प्रश्न उठायो भने सत्ता पक्ष रक्षा कवच बन्नेछ । केन्द्र देखि तलसम्म ढुक्क भए हुन्छ । तर बेलाबेलामा जनताका भावनामा इमोसनमा रोटी सेकाउने काम नगरौँ’ उनले भने ।
अर्को प्रसङ्गमा प्रदेश सभा सदस्य राजिव गुरुङले मजाकमा भनेको हुँ भनेको विषय संसद्को विषय बनाउन नहुने बताए । ‘सम्बन्धित माननीयले मजाक गरेको हुँ भन्नु भएको छ कसैको मजाकलाई हामीले के संसद्को विषय बनाउने?’ उनले प्रश्न गरे ।
यो विषय मुख्यमन्त्रीले मन्त्रालयको कार्यभार लिइसकेपछि खारेज गरिसकेको अधिकारीको तर्क थियो । ‘एमाले माओवादी सत्ता बनाउन त्यही धायौ, कांग्रेसले पनि त्यही धाउनुपर्यो त्यहीकारण त्यो अस्थिरता नहोस् भन्नका लागि अहिले नयाँ ठाउँमा गयौ, अनि आफूसँग हुँदा स्वादे आफू भन्दा बाहिर हुँदा नस्वादे भन्न त पाइएन नी’ उनले थपे ।