पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशन आगामी भदौ २० र २१ गते आयोजना हुने भएको छ। सङ्घको कार्यसमिति बैठकले महाधिवेशनको मिति तय गरेसँगै संघकी वर्तमान महासचिव शोभा गौतमले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
गौतमले उद्योगी–व्यवसायीहरूलाई सम्बोधन गर्दै जारी गरेको अपिलमा आफूले संस्थागत यात्राको क्रममा विभिन्न उपसमितिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै कार्यसमिति सदस्य, उपमहासचिव हुँदै पोखरा उद्योग वाणिज्य सङ्घको पहिलो महिला महासचिव बन्ने अवसर प्राप्त गरेको उल्लेख गरेकी छन् । उनले यो यात्रा आफ्नो व्यक्तिगत प्रयास मात्र नभई उद्योगीव्यवसायी समुदायले देखाएको विश्वास, माया, साथ र निरन्तरको हौसलाको परिणाम भएको बताएकी छन् ।
उनले आफ्नो मूल मन्त्र “पदभन्दा काम ठूलो हुन्छ” रहेको उल्लेख गर्दै जिम्मेवारीलाई अवसरका रूपमा नभई सेवाका रूपमा ग्रहण गर्दै संस्था र व्यवसायीहरूको हितमा इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्दै आएको बताउनुभएको छ। “नेतृत्वको वास्तविक परिचय पदले होइन, कामले दिन्छ,” उनले अपिलमा उल्लेख गरेकी छन् ।
गौतमले पोखरा उद्योग वाणिज्य सङ्घको इतिहासमा हालसम्म कुनै महिलाले अध्यक्ष पदको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त नगरेको स्मरण गराउँदै आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि अनुभव, क्षमता, समावेशी नेतृत्व र सकारात्मक परिवर्तनप्रतिको सामूहिक विश्वासको अभियानका रूपमा प्रस्तुत गरेकी छन्।
उनले आफूलाई उद्योगी–व्यवसायी समुदायकै “छोरी–चेली”का रूपमा प्रस्तुत गर्दै सुख–दुःख, चुनौती र अवसरका प्रत्येक यात्रामा प्राप्त विश्वासलाई अध्यक्षका रूपमा अझ ठूलो जिम्मेवारी र समर्पणका साथ सार्थक बनाउने अवसर प्रदान गर्न आग्रह गरेकी छन्।
उम्मेदवारी घोषणासँगै गौतमले पारदर्शिता, उत्तरदायित्व, सुशासन र सबैलाई साथ लिएर अघि बढ्ने कार्यशैलीलाई आफ्नो नेतृत्वको आधार बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले पोखरा उद्योग वाणिज्य सङ्घलाई अझ सशक्त, समावेशी, व्यवसायीमैत्री र भविष्यमुखी संस्थाका रूपमा विकास गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।
उनले आगामी दिनमा आफ्नो सक्षम, समावेशी र प्रतिबद्ध टिमसहित उद्योगी–व्यवसायीहरूमाझ औपचारिक रूपमा उपस्थित भई साझा दृष्टिकोण, प्राथमिकता र आगामी कार्ययोजना सार्वजनिक गर्ने जानकारी पनि दिएकी छन्।
“आउनुहोस्, हामी सबै मिलेर कामलाई प्राथमिकता दिने नेतृत्व, बलियो संस्था र समृद्ध व्यवसायको नयाँ अध्याय सुरु गरौँ,” गौतमले आफ्नो अपिलमा उल्लेख गरेकी छन्। साथै उनले उद्योगीव्यवसायी समुदायसँग निरन्तर साथ, विश्वास, सल्लाह र शुभेच्छाको अपेक्षा राख्दै “विश्वास तपाईंहरूको, जिम्मेवारी मेरो” भन्ने नारासहित आफ्नो उम्मेदवारीलाई औपचारिकता दिनुएकी छन् ।
















