पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–१८ सेदीबाट अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गरिरहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ। असार २६ गते बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सेदीस्थित जीवन श्रेष्ठको घरमा अनलाइन गेम तथा बेटिङ सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाका आधारमा गण्डकी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले चेकजाँच तथा खानतलासी गरेको थियो। त्यस क्रममा अनलाइन गेम तथा सट्टेबाजी खेलाइरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल पोखरा–१८ सेदी बस्ने ३१ वर्षीय दिनेश सिंह बोहोरा,भारत भुपा मानपुर स्थायी वतन भई हाल पोखरा–१८ सेदी बस्ने ३४ वर्षीय सत्यम सिंह, २४ वर्षीय हर्ष उसरेटे, २३ वर्षीय विशाल चाउ, २२ वर्षीय जमान सिं तमार, २७ वर्षीय विक्रान सिंह, २६ वर्षीय अजितेश कुमार मिश्र र २४ वर्षीय सत्यम राजपूत रहेका छन् ।

प्रहरीले घटनास्थलबाट अनलाइन सट्टेबाजी सञ्चालनमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक उपकरण र सामग्री बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा ७ थान ल्याप्टप, ६ थान मनिटर, ३१ थान मोबाइल, ९ थान किबोर्ड, ४ थान मल्टिप्लग, १ थान १२ भोल्ट ब्याट्री, १ थान युपिएस, २ थान राउटर, १६ थान विभिन्न कम्पनीका चार्जर तथा ३४ थान भारतीय सिमकार्ड रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तहरूले चैत १८ गते पोखरा–१८ सेदीमा ‘सफ्टवेयरको काम गर्ने’ भन्दै घर भाडामा लिएका थिए। जीवन श्रेष्ठको ७ कोठे घर भाडामा लिएर उनीहरूले खाने, बस्ने र अनलाइन गेम तथा सट्टेबाजी सञ्चालन गर्ने कार्य गर्दै आएका थिए।

अनुसन्धानका क्रममा अभियुक्तहरूले टेलिग्राम, व्हाट्सएपलगायतका सामाजिक सञ्जाल समूहमार्फत लिंक पठाई रकम डिपोजिट गर्न लगाउने गरेको खुलेको छ। रकम जम्मा भएपछि प्रयोगकर्तालाई रजिस्ट्रेशन गराई क्रिकेट, फुटबल तथा क्यासिनोसम्बन्धी खेलमा सट्टेबाजी गराउने गरिएको प्रहरीको भनाइ छ। हारजितको परिणामअनुसार जित्ने व्यक्तिलाई अनलाइनमार्फत रकम भुक्तानी गरिने गरिएको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त समूहले दैनिक ३ देखि ४ लाख भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानका क्रममा एक्सिस बैंक, आईडीएफसी बैंक, २४ पे, पे बजार, क्यानरा बैंक, गुगल पे, नोक्सन पे तथा तेलंगाना ग्रामीण बैंकलगायतका बैंक तथा वालेटको प्रयोग भएको देखिएको छ। भारतीय नागरिकहरूको बैंक खाता भाडामा लिएर रकमको लेनदेन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त अनलाइन सट्टेबाजी सञ्चालन भारतीय समूहसँग सम्बन्धित रहेको र हालसम्म नाम नखुलेको भारतीय सञ्चालकको २७औँ शाखाका रूपमा सञ्चालन भइरहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पक्राउ परेकाहरूले काम गरेबापत प्रतिव्यक्ति मासिक २५ हजार भारतीय रुपैयाँ पारिश्रमिक पाउने गरेको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानले पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0