पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्वतीय पर्यटनलाई चिनाउन योगदान पुर्याएका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ। उद्योग तथा पर्यटन मन्त्रालयले शुक्रबार पोखरामा आयोजना गरेको ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’मा उनीहरूलाई सम्मान गरिएको हो।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले सम्मानित पर्वतारोहीहरूलाई जनही ४५ हजार रुपैयाँ नगद, सम्मानपत्र, मायाको चिनो तथा दोसल्ला प्रदान गरे। प्रदेश सरकारले पर्वतारोहण क्षेत्रमा योगदान पुर्याएका नागरिकको सम्मान गर्दै उनीहरूलाई थप हौसला प्रदान गर्ने उद्देश्यले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ।
यस वर्ष सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ की नाङसल छ्योटोन लामा रहेकी छन्। उनले सगरमाथा, मनास्लु र ल्होत्से गरी तीन वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेकी हुन्। त्यस्तै पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पिसी, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी तथा पर्वतको बिहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपानेलाई सगरमाथा आरोहणको सफलताका लागि सम्मान गरिएको हो। यसैगरी तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापालाई कञ्चनजङ्घा हिमाल र तनहुँकै घिरिङ गाउँपालिका–५ का नवराज रानालाई अन्नपूर्ण–१ हिमाल सफलतापूर्वक आरोहण गरेको उपलब्धिका लागि सम्मान गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको संख्या बढाउने प्रतिस्पर्धाभन्दा उनीहरूको बसाइ अवधि लम्ब्याउने रणनीतिमा केन्द्रित हुनुपर्ने बताए। पर्यटक लामो समयसम्म बस्न सके स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने, रोजगारी सिर्जना हुने तथा पर्यटन व्यवसाय थप सुदृढ हुने उनको भनाइ थियो।
मुख्यमन्त्री पाण्डेले पछिल्ला वर्षमा विशेषगरी भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ्दै गएको उल्लेख गरे। अफसिजन मानिने समयमा समेत पोखरा लगायत गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको उनले बताए। यसले होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायीलाई ठूलो राहत पुगेको उनको भनाइ थियो। उनले हिमाललाई नेपालको पहिचान, गौरव र अमूल्य प्राकृतिक सम्पदाका रूपमा व्याख्या गर्दै यसको संरक्षणसँगै दिगो उपयोगमा जोड दिए। विश्वभर योग, ध्यान तथा वेलनेस पर्यटनप्रतिको आकर्षण बढिरहेको उल्लेख गर्दै उनले गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्। उनीहरूको उपलब्धिले देशको प्रतिष्ठा बढाउनुका साथै नयाँ पुस्तालाई पनि पर्वतारोहण र साहसिक पर्यटनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। प्रदेश सरकारले आगामी दिनमा पनि पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई प्रोत्साहन र सम्मान गर्ने नीति लिएको उनले बताइन्।
मन्त्रालयका सचिव रोशन ज्ञवालीले प्रदेशको प्रतिनिधित्व गर्दै गौरव बढाउनेलाई प्रोत्साहन गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । पर्वतारोहणको सम्भावनाका हिसाबले गण्डकी प्रदेश धनी भएको उनको भनाइ थियो ।
सम्मानित पर्वतारोहीहरूले प्रदेश सरकारले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै यसले आफूहरूलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिए। आवश्यक सहयोग, अवसर र प्रोत्साहन प्राप्त भए आगामी दिनमा पनि हिमाल आरोहणलाई निरन्तरता दिँदै नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।
उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टिकाराम पौडेलका अनुसार प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेशका नागरिकलाई पर्वतारोहण क्षेत्रमा थप प्रोत्साहन गर्ने, उनीहरूको योगदानको राज्यबाट सम्मान गर्ने तथा पर्वतीय पर्यटनको विकासमा थप ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
















