पोखरा । रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५५ करोड ३८ लाख १ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले मंगलबार आयोजित गाउँसभा बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय उत्पादन, रोजगार, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताइन् ।

उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेटमा स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, उत्पादन र उत्पादकत्व वृद्धि, सीपमूलक तालिममार्फत मानव संसाधन विकास तथा आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राखिएको उल्लेख गरिएको छ । बजेटले “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने दीर्घकालीन सोचलाई साकार पार्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा ५० करोड ८ लाख ९७ हजार रुपैयाँको संशोधित बजेटमध्ये हालसम्म ४२ करोड ८ लाख १९ हजार रुपैयाँ आम्दानी भएको तथा कुल लक्ष्यको ८४.०१ प्रतिशत राजस्व संकलन भएको जानकारी दिइएको छ ।

कृषि र पशुपालनमा जोड

आर्थिक विकासतर्फ ४ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि तथा पशुपालन क्षेत्रमा आत्मनिर्भरता बढाउन, बेरोजगार युवालाई कृषि पेशामा आकर्षित गर्न तथा एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्न १ करोड ८० लाख रुपैयाँ छुट्याइएको छ। साथै कृषि क्षेत्रका विभिन्न कार्यक्रमका लागि कुल २ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पशुपालन क्षेत्रका लागि ७८ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअन्तर्गत उत्पादनमा आधारित अनुदान, निःशुल्क पशु बीमा, नस्ल सुधार, खोप कार्यक्रम तथा साइलेज उद्योग सञ्चालन जस्ता कार्यक्रम सञ्चालन गरिनेछन् ।

पर्यटन र सिंचाइमा लगानी

रूपा ताल क्षेत्रको पर्यटन सम्भावनालाई उपयोग गर्न रोयल ट्रेक, जलदेवी क्षेत्र, होमस्टे प्रवर्द्धन तथा वडा नं. ६ भंगारास्थित झरना विकासको सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम अघि बढाइने भएका छन् । सिंचाइ सुविधाको विस्तारका लागि संघ र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सामाजिक विकासमा १९ करोड ४३ लाख

सामाजिक विकास क्षेत्रका लागि १९ करोड ४३ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ। स्वास्थ्य सेवातर्फ ३ करोड ४३ लाख रुपैयाँ बजेट छुट्याइएको छ। यसबाट विशेषज्ञसहितको स्वास्थ्य सेवा, स्वास्थ्य बीमा अनुदान, पाठेघरको मुखको क्यान्सर परीक्षण, एम्बुलेन्स सेवा तथा क्षयरोग नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ ।

शिक्षा क्षेत्रका लागि १५ करोड २४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको छ। नमुना विद्यालय सञ्चालन, शिक्षक क्षमता विकास, प्राविधिक शिक्षा, छात्रवृत्ति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रम कार्यान्वयन गरिने बताइएको छ।

त्यसैगरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ। ‘रूपाकी छोरी’ कार्यक्रम सञ्चालन गर्न ७ लाख रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकासमा ११ करोडभन्दा बढी

पूर्वाधार विकास क्षेत्रका लागि ११ करोड १८ लाख ५१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। शिबचण्डी मोटरबाटो कालोपत्रे गर्न २ करोड रुपैयाँ, स्याक्लुङकोट–रामकोट–काउनेपोखरी–राम्दी मोटरबाटो निर्माणका लागि २ करोड १० लाख रुपैयाँ तथा फेदी–राम्दी–माउँडाँडा–फैचोक सडकका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै धारापानी–निबुवास्वाँरा–पोल्याङ सडकका लागि १ करोड रुपैयाँ, गाउँपालिकाको प्रशासकीय भवनको फिनिसिङ तथा कम्पाउन्डिङका लागि १ करोड ५० लाख रुपैयाँ र ब्यास नगरपालिकासँगको साझेदारीमा बिमलादे खोला पुल निर्माणका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

रोजगार, वन तथा खानेपानीमा कार्यक्रम

‘काम गरी कमाऊ, स्वदेशमै रमाऊ’ अभियानअन्तर्गत रोजगार सेवा केन्द्र सुदृढीकरण, कृषि पूर्वाधार, पदमार्ग, फोहोर व्यवस्थापन तथा सामुदायिक सम्पत्ति निर्माणमा जोड दिइने भएको छ ।

वन्यजन्तु व्यवस्थापन, बाँदर नियन्त्रण, डढेलो रोकथाम तथा स्वच्छ खानेपानी व्यवस्थापनका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको छ। प्रत्येक वडामा ‘एक वडा, एक पोखरी’ योजना सञ्चालन गरिने उल्लेख गरिएको छ ।

राजस्वका मुख्य स्रोत

आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ७ करोड ७८ लाख, राजस्व बाँडफाँट ७ करोड ५९ लाख, सशर्त अनुदान २९ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँट, समपूरक तथा विशेष अनुदानमार्फत रकम प्राप्त हुने तथा गाउँपालिकाको आन्तरिक स्रोतबाट १ करोड २७ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ ।

उपाध्यक्ष गुरुङले प्रस्तुत बजेटले स्थानीय उत्पादन वृद्धि, रोजगार सिर्जना, सेवा प्रवाहमा सुधार तथा समावेशी विकासमार्फत रूपा गाउँपालिकाको समृद्धिको यात्रालाई थप गति दिने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0