पोखरा । नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी, समावेशी र युवामैत्री बनाउने तथा गण्डकी प्रदेशको दिगो विकासमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल र युवा अभियानको संयुक्त आयोजनामा आयोजित दुईदिने सम्मेलनले ६ बुँदे साझा युवा घोषणापत्र सार्वजनिक गर्दै आइतबार समापन भएको हो।

शनिबारबाट पोखरामा आयोजना भएको सम्मेलनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका ५० भन्दा बढी युवा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सम्मेलनले प्रदेशभरिका युवाहरूका साझा आवाज, सरोकार, सुझाव तथा प्रतिबद्धतालाई समेट्दै सरकार, नागरिक समाज र निजी क्षेत्रसमक्ष नीतिगत तथा कार्यक्रमगत सुधारका लागि आग्रह गरेको छ।

सम्मेलनको समापन समारोह गैर सरकारी संस्था महासंघ नेपाल गण्डकीका अध्यक्ष पदमराज पहरीको अध्यक्षतामा सम्पन्न भएको थियो । पहारीले सम्मेलन फलदायी बनेको बताए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा गैसस महासंघ नेपालका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी सहभागी थिए । उनले केन्द्रीय सम्मेलन पोखरामा आयोजना गरिने भन्दै सोही अनुसार सक्रियता बढाउन आग्रह गरे । सम्मेलनमा सहभागी युवा प्रतिनिधि निल थापा, कामना न्यौपाने र अनुप रानाभाटले सम्मेलनका अनुभव, सिकाइ तथा अपेक्षाबारे आफ्ना धारणा व्यक्त गरेका थिए।

सम्मेलनबाट यामकला पौडेल गण्डकी प्रदेश संयोजकमा चयन भएकी छन्। निर्वाचित भएपछि उनले प्रदेशका युवाहरूको आवाजलाई अझ सशक्त र संगठित ढंगले उठाउँदै नीति निर्माण तहसम्म पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

समापन समारोहमा सम्मेलनबाट तयार गरिएको ६ बुँदे युवा घोषणापत्र नवनिर्वाचित संयोजक पौडेलले सार्वजनिक गरेकी थिइन् । घोषणापत्रमा डिजिटल सुरक्षा तथा नवप्रवर्तन, गुणस्तरीय र समावेशी शिक्षा, स्वास्थ्य तथा मानसिक स्वास्थ्य, पर्यटन र हरित उद्यमशीलता, जलवायु न्याय तथा विपद् व्यवस्थापन र युवा सहभागिता तथा सुशासनलाई प्राथमिकताका विषयका रूपमा समेटिएको छ।

घोषणापत्रमा प्रत्येक स्थानीय तहमा गुणस्तरीय इन्टरनेट पहुँच विस्तार, डिजिटल साक्षरता तथा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी शिक्षा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसैगरी माध्यमिक तहसम्म निःशुल्क, प्रविधिमैत्री तथा सीपमूलक शिक्षा सुनिश्चित गर्दै सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक पहुँच बढाउनुपर्ने माग गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा प्रत्येक स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन, मानसिक स्वास्थ्यमा लगानी वृद्धि गर्न तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्नुपर्ने विषय घोषणापत्रमा समेटिएको छ । युवालाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्न कर सहुलियत, सहज ऋण, निःशुल्क इन्टर्नसिप तथा पर्यटन र कृषि क्षेत्रमा आधारित उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

त्यसैगरी जलवायु परिवर्तनबाट प्रभावित समुदायका लागि द्रुत प्रतिकार्य संयन्त्र निर्माण, हरित पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा युवाको नेतृत्व सुनिश्चित गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ। निर्णय निर्माण प्रक्रियामा कम्तीमा २० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्न, पारदर्शी शासन प्रणाली स्थापना गर्न तथा सार्वजनिक योजनाको नागरिक अनुगमनमा युवाको सक्रिय भूमिका बढाउनुपर्ने माग समेत घोषणापत्रमा समावेश गरिएको छ ।

सम्मेलनमा सहभागी युवाहरूले डिजिटल जिम्मेवारी, सामाजिक सद्भाव, वातावरण संरक्षण, उद्यमशीलता, सुशासन तथा सामुदायिक सेवामा सक्रिय योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। घोषणापत्रमा समेटिएका विषयहरूको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश तथा स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ।

कार्यक्रमको सञ्चालन गैसस महासंघ गण्डकी प्रदेशका सहसचिव रमेशप्रसाद रिजालले गरेका थिए । सम्मेलनले गण्डकी प्रदेशका युवाहरूका साझा मुद्दा र प्राथमिकतालाई संस्थागत रूपमा अघि बढाउने आधार तयार गरेको निवर्तमान संयोजक आदित्य रसाइलीले बताए । उनले सम्मेलनमा सहभागी बन्ने र भव्य रुपमा सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0