पोखरा । विश्व योग दिवस २०८३ को अवसरमा नागरिक समिति–२०८३, पोखरा–५ को आयोजनामा प्रकृति तथा योग विषयक बाल चित्रकला प्रतियोगिता तथा योग प्रवचन कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ।

पोखरा महानगरपालिका वडा नं‍‍. ५ मा स्थायी तथा अस्थायी रूपमा बसोबास गर्ने तथा वडा नं. ५ भित्रका विभिन्न विद्यालयमा अध्ययनरत १०७ जना विद्यार्थीहरूको सहभागितामा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । यस कार्यक्रमले बालबालिकामा प्रकृति संरक्षण, योग र स्वस्थ जीवनशैलीप्रति चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वामी योगानन्दजीले योगको महत्व, यसको वैज्ञानिक पक्ष तथा दैनिक जीवनमा योग अभ्यासको आवश्यकताबारे विस्तृत प्रवचन दिएका थिए । उनले योगले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै सहभागीहरूलाई विभिन्न योग अभ्याससमेत गराए।

स्वामी योगानन्दजीले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका तनाव, चिन्ता र विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाउन योग प्रभावकारी माध्यम भएको उल्लेख गर्दै योगलाई जीवनको अभिन्न अंग बनाउनुपर्नेमा जोड दिए । उनले बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले नियमित योग अभ्यास गर्न सके स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

प्रा. डा. सरोज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले. योग केवल शारीरिक व्यायाम नभई समग्र जीवन व्यवस्थापनको कला भएको बताए । प्रकृति र योगको सम्बन्ध अत्यन्त निकट रहेको उल्लेख गर्दै उनले बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रेम र स्वस्थ जीवनशैलीको संस्कार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे ।

प्रकृति तथा योग विषयक चित्रकला प्रतियोगिताको निर्णायकको भूमिका वरिष्ठ चित्रकार प्राज्ञ रमेश श्रेष्ठले निर्वाह गरेका थिए । प्रतियोगितामा सहभागी बालबालिकाहरूले प्रकृति संरक्षण, वातावरणीय सन्तुलन, योग अभ्यास तथा स्वस्थ जीवनशैलीसँग सम्बन्धित विविध सिर्जनात्मक चित्र प्रस्तुत गरेका थिए। प्रतियोगितामा उत्कृष्ट चित्रहरू छनोट गरी सम्मानसमेत गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन बसन्तराज गौतमले गरेका थिए भने कार्यक्रम सम्बन्धी जानकारी आयोजक समितिका लक्ष्मण बरालले दिए । बरालका अनुसार विश्व योग दिवसको सन्देशलाई समुदायस्तरसम्म पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले बालबालिका, अभिभावक तथा स्थानीय समुदायमा योग र प्रकृतिप्रति सकारात्मक चेतना फैलाउन सफल भएको छ।

आयोजक समितिले यस्ता रचनात्मक तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने जनाएको छ। कार्यक्रमले विश्व योग दिवसको महत्वलाई उजागर गर्नुका साथै योगमार्फत स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0