पोखरा । नेपाली कपडा ब्रान्ड बबाल वेयर्सले पोखरामा आफ्नो नयाँ आउटलेट औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। पोखराको बजारलाई लक्षित गर्दै खोलिएको आउटलेटमा हाल टिसर्ट, सर्ट, पाइन्ट, ट्राउजरलगायतका कपडा उपलब्ध छन् भने एक महिनाभित्र जिन्ससमेत बजारमा ल्याइने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओ विराट गिरीका अनुसार पोखरेली ग्राहकबाट बबाल वेयरका उत्पादनप्रति देखिएको उच्च मागका कारण पोखरामा आउटलेट विस्तार गरिएको हो। हाल उद्घाटनको अवसरमा ग्राहकलाई ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

साढे दुई वर्षअघि सञ्चालनमा आएको बबाल वेयर्सले अहिलेसम्म उत्पादन र बजार विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ। कम्पनीमा चर्चित कन्टेन्ट क्रियटर सिसन वानिया, वेनदी भारती र विराट गिरीको लगानी रहेको छ । पोखरा शाखामा मात्र करिब ५० लाख रुपैयाँ लगानी गरिएको छ भने फ्याक्ट्रीसहित कुल लगानी करिब ५ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। हाल कम्पनीले पोखरामा ५ जना र काठमाडौंमा करिब ७० जनालाई रोजगारी दिएको छ। बबाल वेयरको टिसर्टको मूल्य २ हजार रुपैयाँबाट सुरु हुन्छ ।

काठमाडौंपछि अर्को राम्रो गन्तव्यका रूपमा हामीले पोखरालाई रोजिएको र अब काठमाडौंमा पनि आउटलेट विस्तार गर्ने तथा पूर्वका विभिन्न स्थानमा जाने योजना उनले बताए । पोखराबाट प्राप्त हुने प्रतिक्रिया र माहोलले आगामी विस्तारका योजना निर्धारण गर्ने उनको भनाइ छ ।

गुणस्तरीय कपडा, आकर्षक डिजाइन र सुपथ मूल्य आफ्नो विशेषता रहेको कम्पनीको दाबी छ। शुक्रबार आयोजित औपचारिक उद्घाटन समारोहमा भ्लगर सिसन वानिया लगायतको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0