पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘अपरेशन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन (मोडिफाई) गरिएका थप २३ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही गरेको छ।

प्रहरीका अनुसार असार ४ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन् । नियन्त्रणमा परेका सवारीमध्ये वडा प्रहरी कार्यालय बैदामको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारको टोलीले ४ वटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिइएका सवारी साधनमाथि आवश्यक कानुनी कारबाही गरिएको जनाएको छ । यस अभियानअन्तर्गत हालसम्म कुल ७१२ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीले सवारीधनीलाई सवारी साधनको मूल स्वरुप परिवर्तन नगरी चलाउन आग्रह गर्दै मोडिफिकेसन गर्ने ग्यारेज, वर्कसप तथा रिकन्डिसन हाउस सञ्चालकलाई पनि यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ। सवारी साधनको स्वरुप परिवर्तन गरी चलाएको पाइएमा सवारीधनी तथा त्यसमा संलग्न व्यक्तिलाई कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0