पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको दोस्रो खेल महोत्सव तथा मार्सल आर्ट फेस्टिभल–२०८३ अन्तर्गत विद्यालयस्तरीय हक्की प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ सेन्ट फ्रान्सिस स्कुल र छात्रातर्फ कालिका माध्यमिक विद्यालयले उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।
पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो। छात्रतर्फ कालिका मावि दोस्रो तथा शुक्रराज बलभद्र मावि तेस्रो स्थानमा रह्यो। त्यसैगरी छात्रातर्फ न्यु मिलिनियम स्कुल उपविजेता बन्दा शान्ति निकुञ्ज बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भयो।
प्रतियोगिताका विजेता तथा उत्कृष्ट टोलीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। दुवै विधामा प्रथम हुने टोलीले १० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ७ हजार रुपैयाँ र तेस्रो हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका सदस्य–सचिव सुरज अधिकारीका अनुसार प्रतियोगितामा १४ विद्यालयका २६ टोलीको सहभागिता रहेको थियो। सहभागी टोलीमध्ये छात्रतर्फ १४ र छात्रातर्फ १२ टोली रहेका थिए। विद्यालयस्तरमै हक्की खेलको विकास र विद्यार्थीहरूमा खेलप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए।
गत जेठ ३० गते औपचारिक रूपमा उद्घाटन भएको दोस्रो खेल महोत्सव तथा मार्सल आर्ट फेस्टिभल अन्तर्गत समावेश ११ खेलमध्ये अधिकांश प्रतियोगिता सम्पन्न भइसकेका छन्। महोत्सव अन्तर्गत बाँकी रहेको प्रमुख प्रतियोगिता ‘मेयर कप क्रस कन्ट्री साइक्लिङ’ आगामी आइतबार आयोजना हुने पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए।
खेल महोत्सवले विद्यालयस्तरदेखि नै खेल प्रतिभाको पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ। विभिन्न खेलमार्फत विद्यार्थी तथा युवालाई खेलकुद गतिविधिमा सक्रिय बनाउने लक्ष्यसहित महोत्सव सञ्चालन भइरहेको छ ।

















