पोखरा । फेदीखोला गाउँपालिकाले “मौरी संरक्षण र जैविक विविधता, कृषकको आवद्धता समृद्ध फेदीखोलाको प्रतिबद्धता” भन्ने मूल नारासहित प्रथम फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।
मौरी संरक्षण, जैविक विविधताको प्रवर्द्धन, कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा मौरीको योगदानलाई उजागर गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मौरीलाई कृषि उत्पादन र वातावरणीय सन्तुलनको आधारस्तम्भका रूपमा उल्लेख गरे। उनले मौरी संरक्षण तथा व्यावसायिक मौरीपालनको प्रवर्द्धन वर्तमान आवश्यकता भएको बताउँदै परागसेचनमार्फत कृषि उत्पादन वृद्धि, जैविक विविधता संरक्षण र कृषकको आयआर्जन अभिवृद्धिमा मौरीको महत्वपूर्ण योगदान रहेको बताए।
मन्त्री कार्कीले फेदीखोला गाउँपालिकाले सञ्चालन गरेका उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, कृषि एम्बुलेन्स, बाँझो जग्गामा खेती गर्ने कृषकलाई अनुदान तथा भूमि बैंकजस्ता कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई राज्यस्तरबाटै विस्तार गर्नुपर्ने धारणा व्यक्त गरे।
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले मौरीपालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार सिर्जना तथा कृषि व्यवसायीकरणसँग जोड्दै आगामी दिनमा पनि यस क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे। उनले मौरी संरक्षण, कृषक सशक्तीकरण, जैविक विविधता संरक्षण तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरणका लागि गाउँपालिका निरन्तर क्रियाशील रहने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटी सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कृषि सहकारी, कृषक समूह, मौरीपालक कृषक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए। सो अवसरमा गाउँपालिकाले सञ्चालन गरेका विभिन्न मौरीपालनसम्बन्धी कृषक पाठशालाको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । स्वस्थ रानी उत्पादन तालिम तथा प्रगतिशील र जनजागरण मौरीपालन आईपीएम कृषक पाठशालाबाट प्राप्त उपलब्धिहरू समेत सार्वजनिक गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा आधुनिक प्रविधिमा आधारित ‘अनलाइन बी हाइभ मनिटरिङ सफ्टवेयर’ सार्वजनिक गरिएको थियो। उक्त सफ्टवेयरमार्फत मौरीघारको अवस्थाबारे डिजिटल माध्यमबाट निगरानी गर्न सकिने जनाइएको छ । यसले मौरीपालन व्यवसायमा प्रविधिको प्रयोग विस्तार गरी उत्पादन वृद्धि र व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा विभिन्न तालिम तथा कृषक पाठशालामा सहभागी कृषकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै कृषक पाठशालामा सहभागी कृषकलाई मौरीसहितका घार वितरण कार्यक्रमको शुभारम्भ गरिएको छ। कृषक पाठशालामार्फत मौरी व्यवस्थापन, रोग तथा शत्रु नियन्त्रण, आधुनिक घार व्यवस्थापन, मह उत्पादन र बजारीकरणसम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

मौरी संरक्षण तथा मौरीका लागि उपयुक्त चरन क्षेत्र विस्तार गर्ने उद्देश्यले कृषकहरूलाई एक हजार वटा चिउरी र चार सय वटा कल्कीका बिरुवा वितरण गरिएको थियो। यी बहुवर्षीय पुष्पीय वनस्पतिले मौरीपालन व्यवसायको दिगोपनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
त्यसैगरी स्थानीय कृषकद्वारा उत्पादित शुद्ध मह तथा अन्य कृषि उपजको प्रदर्शनी तथा बिक्री वितरणसमेत गरिएको थियो। कार्यक्रममा मात्रै करिब चार लाख रुपैयाँ बराबरको शुद्ध सेरेना मौरीको मह बिक्री भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका कृषक तथा सहभागीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। प्रगतिशील र जनजागरण आईपीएम कृषक पाठशालामा सहभागी ६३ जना कृषकलाई प्रमाणपत्र तथा घार वितरण गरिएको थियो। आधारभूत मौरीपालन तालिम पूरा गरेका २० जना कृषकलाई प्रमाणपत्रसहित प्रति कृषक दुईवटा मौरीसहितका घार प्रदान गरिएको थियो। स्वस्थ रानी उत्पादन तालिममा सहभागी २१ जना कृषक तथा “एक विद्यालय, एक उद्यम” कार्यक्रमअन्तर्गत मौरीपालन अभिमुखीकरण तालिममा सहभागी १० जना शिक्षकलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित मौरीसम्बन्धी चित्रकला प्रतियोगितामा उत्कृष्ट भएका ६ जना विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
स्थानीय तह स्तरमा नेपालमै पहिलो पटक मौरी दिवस आयोजना गरेको दाबी गर्दै फेदीखोला गाउँपालिकाले यस कार्यक्रमले मौरी संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै व्यावसायिक मौरीपालनप्रति कृषकमा थप उत्साह र प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गरेको छ ।
















