पोखरा । पोखरामा पछिल्लो समय ठूला चोरीका घटनामा काठमाडौँबाट आएका गिरोह संलग्न हुने गरेको कास्कीका प्रहरी प्रमुख एसपी नबिन कार्कीले बताएका छन्। उनले पोखरामा चोरीको नयाँ प्रवृत्ति देखिएको भन्दै स्थानीयवासीलाई थप सतर्क रहन आग्रह गरेका छन्।
नुवारथोक टोल विकास संस्था पोखरा–७ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका वडा नम्बर ७, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक सेवा केन्द्र बैदामको समन्वयमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा नागरिक सुनुवाइ कार्यक्रममा बोल्दै एसपी कार्कीले पछिल्ला चोरीका घटनाको अनुसन्धानका क्रममा काठमाडौँबाट पोखरा आएर चोरी गर्ने र पुनः फर्किने समूह सक्रिय रहेको जानकारी दिए।
स्थानीयवासीले पोखरामा चोरीका घटना बढ्दै गएको गुनासो गरेपछि एसपी कार्कीले चोरीको नयाँ शैलीका कारण अनुसन्धानमा समेत समय लाग्ने गरेको बताए। उनले सुरक्षाको पहिलो जिम्मेवारी नागरिक स्वयंको भएको उल्लेख गर्दै टोलटोलमा निगरानी बढाउन, सिसिटिभी जडान गर्न र पर्याप्त प्रकाशको व्यवस्था गर्न आग्रह गरे।
उनले पोखराको एक घरबाट मात्रै ५० तोला सुन चोरी भएको घटना उल्लेख गर्दै ठूलो परिमाणमा सुन तथा बहुमूल्य सामान घरमा नराख्न सुझाव दिए। “सुन सुरक्षित लकरमा राख्नुहोस्, धेरै गहना लगाएर हिँड्दा पनि जोखिम बढ्छ,” उनले भने। पछिल्लो समय सुनको मूल्य बढेकाले चोरी गर्नेहरूको नजर सुनमा केन्द्रित भएको र यसले ज्यानसमेत जोखिममा पार्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा पोखरा–७ का वडा अध्यक्ष राममोहन आचार्यले वडा तथा महानगरलाई उज्यालो र सुरक्षित बनाउने अभियान अन्तर्गत मुख्य चोक–चोकमा सिसिटिभी जडान गर्ने योजना अघि बढाइएको बताए। उनले चोरी नियन्त्रणका लागि समुदायको सक्रियता अपरिहार्य रहेको उल्लेख गर्दै टोलस्तरमा नियमित गस्ती सञ्चालन गर्न आग्रह गरे।
वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले टोलमा नयाँ व्यक्ति आएमा निगरानी गरी प्रहरीलाई जानकारी गराउन अनुरोध गरे। उनले घरमा सिसिटिभी, स्वचालित बत्ती लगायतका सुरक्षा उपकरण जडान गर्न र लामो समय घर खाली छाड्दा छिमेकीलाई जानकारी गराउन सुझाव दिए। धेरैले दराजको घर्रामा गरगहना राख्ने गरेको भन्दै त्यसले चोरीको जोखिम बढाउने बताए।
कार्यक्रममा स्थानीयवासीले टोलटोलमा गस्ती बढाउन, सिसिटिभी तथा सडकबत्तीको व्यवस्था गर्न, लागूऔषध दुर्व्यसन नियन्त्रण गर्न तथा बिहान–साँझ महिलाहरूलाई सुरक्षित रूपमा हिँड्न सक्ने वातावरण निर्माण गर्न सुझाव दिएका थिए।
सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बराल तथा नुवारथोक टोल विकास समिति पोखरा–७ का अध्यक्ष दामोदर बरालले समाजमा शान्ति सुरक्षा कायम राख्न र चोरी नियन्त्रण गर्न समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।















