पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक सञ्चालन गरिएको चारदिने अनुसन्धानमूलक लेख लेखन तालिम आइतबारबाट सुरु भएको छ।
तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पत्रकारिता क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेकाले पत्रकारहरू सबै विषयमा निरन्तर अपडेट हुन आवश्यक रहेको बताए। उनले तालिम र सिकाइबाट खारिएको पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। पत्रकारहरूको क्षमता विकासका कार्यक्रमहरूमा पोखरा महानगरपालिकाको सदैव साथ र सहयोग रहने प्रतिबद्धता उनले जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव प्रसाद बरालले आफ्नो कार्यकालमा हालसम्म आठ वटा विभिन्न तालिम सञ्चालन गरिएको जानकारी दिँदै अनुसन्धानमूलक लेख लेखनसम्बन्धी यो तालिम विशेष र फरक प्रकृतिको रहेको बताए। पत्रकारहरूबाट लेख लेखनसम्बन्धी क्षमता अभिवृद्धिको आवश्यकता रहेको सुझाव प्राप्त भएपछि महासंघले यो तालिम आयोजना गरेको उनको भनाइ छ । यसले पत्रकारिताको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उनले खुलाए ।
तालिममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख डा। कुँन्दन अर्याल सहित डा। श्रीराम पौडेल तथा डा. कपिल अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको महासंघले जनाएको छ।
उद्घाटन सत्रमा महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव धनबहादुर गुरुङ ‘सुमन’ले गरेका थिए।
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै अनुसन्धानमा आधारित गुणस्तरीय सामग्री उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरेको जनाएको छ। जेठ २७ गतेसम्म सञ्चालन हुने तालिममा पोखरामा क्रियाशील ६० जना पत्रकारहरूको सहभागिता रहेको छ।
















