पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गनेसले वर्तमान सरकारले देशमा आमूल परिवर्तन ल्याउने लक्ष्यसहित द्रुत गतिमा काम गरिरहेको बताएका छन्। मन्त्री पौडेलले पोखरामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कास्कीको ऐतिहासिक प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै  प्रधानमन्त्रीसहित सरकारका सबै मन्त्रीहरूले तीव्रताका साथ काम गरिरहेकोले त्यसको सकारात्मक परिणाम केही समयमै देखिने दाबी गरेका हुन् । कर्मचारीतन्त्रबाट समेत राम्रो सहयोग प्राप्त भइरहेको भन्दै उनले नागरिकले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी सरकार अघि बढिरहेको बताए। रोजगारका अवसर सिर्जना गर्ने र विकासको अनुभूति देशका सबै कुनासम्म पुर्‍याउने लक्ष्यसहित सरकार काम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तम प्रसाद पौडेल ले पुराना राजनीतिक दलहरू अनियमितता, भ्रष्टाचार तथा कार्यकर्तामुखी राजनीतिमा केन्द्रित रहेको अवस्थामा रास्वपाले त्यसको विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताए। उनले पार्टी सभापति रवि लामिछाने त्यस अभियानमा सफल भएको दाबी गरे। कार्यकर्ताको ठूलो संरचना नहुँदा पनि आम नागरिकको विश्वास र समर्थनका कारण पार्टी यहाँसम्म आइपुगेको उल्लेख गर्दै उनले उक्त विरासतलाई जोगाउँदै अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यसैगरी कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विना गुरुङले आगामी स्थानीय तह निर्वाचनलगायतका राजनीतिक प्रतिस्पर्धालाई ध्यानमा राख्दै नेतृत्वमा जो आए पनि जनताको सेवा र देश विकास नै साझा उद्देश्य हुनुपर्ने भनाइ राखिन् । गुरुङले नयाँ नेतृत्व तथा कार्यसमिति चयन गर्दा महिलाको सहभागितामा विशेष ध्यान दिन आग्रह गरिन्।

रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र भएको थियो । अधिवेशनले यदुनाथ अधिकारीकाे अध्यक्षातामा नयाँ कार्यसमिति चयन गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0