पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सञ्चालित बहुवर्षीय अधुरा र रुग्ण आयोजनालाई प्राथमिकतासहित आगामी आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
समितिको मङ्गलबार सम्पन्न ४८ औ बैठकले उक्त निर्णय गरेको प्रमुख लिलाधर पौडेलले जानकारी दिनुभयो । पौडेलले विभिन्न कारणले विगतका सरकारका वार्षिक बजेटमा परेर पनि सम्पन्न हुन नसकेका करिब दुई दर्जन आयोजनाका लागि रकम बिनियोजन गरेर निर्माणमा अवरोधका कारणको पहिचान सहित यथाशीघ्र निर्माण सम्पन्न हुने गरेर अगाडि बढाउँन सिफारिस गर्ने निर्णय गरिएको छ ।
पर्याप्त रकम अभावका कारण समयमा सम्पन्न हुन् नसकेका, निर्माण कम्पनीको लापरबाही तथा अन्य कारणको पहिचान सहित नेपाल सरकारलाई सिफारिस गरिएको प्रमुख पौडेलको भनाइ छ । यसरी निर्माण तिव्रता गर्न सिफारिस गरिएका आयोजनाहरूमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको भवन निर्माण आयोजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको निर्माण योजना, सराङकोट स्वास्थ्य चौकी भवन, भगरा कृषि सडक मोटरबाटो निर्माणका योजना रहेका छन्।
त्यसैगरी पुल सेक्टर पोखरा कार्यालय मातहत सञ्चालित आयोजनाहरू मध्ये आर्थिक बर्ष २०७४-७५ को सेती नदि माथिको बगर र फूलबारी जोड्ने पुल,पोखरा ३० र ३३ जोड्ने मुसेटूडा पावर हाउसको पुल निर्माणमा ढिला सुस्तीका कारण सहित शहरी विकास मन्त्रालयलाई लेखी पठाइएको छ ।
पोखरा २१ र १७ जोड्ने दम्सादी पुल, पोखरा १३ र २८ जोड्ने कसेरिमा निर्माणाधीन विजयपुर खोला पुल, कास्कीको अन्नपूर्ण गाउँपालिका र पर्वतको मोदी गाउँपालिका जोड्ने भुरुङदी पुल, पोखरा २५ र १९ जोड्ने जीर्ण सेती दोबिल्ला घाटको पुल, पोखरा ४ र ५ जोड्ने फिर्के खोला पुल सहितका आयोजनाको काम तत्काल अगाडि बढाउन नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । मुग्लिङ पोखरा सडक स्तरोन्नतिको बाँकी काम सहित सेती नदीमाथिको पुल आयोजनाको कार्य र मध्य पहाडी लोकमार्गको कास्की खण्डको बाँकी काम, सोही राजमार्गको लमजुङ र कास्कीको सिमानामा ट्रयाक खोलेर कार्य अगाडि बढाउँन भनिएको छ।
यसैगरी पोखरामा नियमित अन्तराष्ट्रिय हवाई उडान सञ्चालन गर्न महेन्द्रनगर र नेपालगञ्जबाट पोखरालाई जोड्ने गरेर हवाई मार्गको पहुँच बिस्तार गर्न आवश्यक कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।
















