पोखरा । आर एस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक महिला गोल्डकप सुरु भएको छ । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा आजबाट महिला गोल्डकप सुरु भएको हो ।  गण्डकी प्रदेशकै इतिहासमा पहिलो पटक पोखरामा महिला गोल्डकपको आयोजना भएको हो । यस अघि सम्म पोखरामा महिलातर्फको ठूलो प्रतियोगिता हुन सकेको थिएन । 

पहिलो पटक भएको गोल्डकपको उद्‌घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला बिकसहारा लिम्बुले एक एक गोल गरिन् । 

खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौँ मिनेटमा उनको प्रहारलाई आर एसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् लगत्तै दशौं मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । २७ औं मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५ औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । त्यसको २ मिनेट पश्चात रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन् । 

त्यसअघि २३ औं मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसकी डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८ औं मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो । २९ औं मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४० औं मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो ।

खेलको सुरुवातबाट नै आयोजक माथि हावी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम गर्‍यो । पुलिसले दोस्रो हाफमा थप २ गोल गर्दा एक गोल उपहार स्वरुप पायो । 

खेलको ५० औं मिनेटमा सहाराले गोल गरिन् । ६० औं मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन् । उनी खेलको प्लेयर दी म्याच समेत घोषित भइन् । जित सँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आर एस र पुलिस सँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तरग भोलि त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उद्‌घाटन ड्रिम हाउस स्पोर्ट्सका सञ्चालक रविन कार्कीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0