पोखरा । बाल अधिकार, शिक्षा, कृषि, वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील संस्था श्रमिक बालबालिकाका लागि सामाजिक एकीकरण मञ्च (चिल्ड्रेन नेपाल) को विहीवार आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखाजोखा कार्यक्रम भएको छ। संस्थाले गरेका गतिविधिका बारेमा सरोकारवालालाई जानकारी दिन तथा संस्थागत सुशासनका लागि कार्यक्रम गरेको संस्थाका अध्यक्ष शान्त पौडेलको भनाइ छ। पौडेलले चिल्ड्रेन–नेपाललाई समुदायले गरेको विश्वासले थप जिम्मेवार भएर काम गर्न अभिप्रेरित गरेको बताए । आगामी दिनहरूमा थप जिम्मेवार बन्ने प्रतिबद्धता समेत अध्यक्ष पौडेलको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लक्षित वर्गको आय आर्जन र जीवनस्तर सुधार गर्न सामाजिक सङ्घ, संस्थाको योगदान रहेको बताइन् । उनले सङ्घ संस्थाले बजेटको पारदर्शी रुपमा प्रयोग गरी विपन्न तथा पछाडि पारिएका वर्गको जीवनस्तर सुधारमा अझ प्रभावकारी काम गर्न सुझाव दिइन् । सङ्घ संस्था निगम सङ्गत ढंगले चल्नु पर्छ भन्दै सबै कार्यक्रम लक्षित वर्गसम्म पुग्न पर्नेमा उनको जोड थियो । बजेट खर्च नीति र विधि अनुसार हुनु पर्छ भन्दै उनले लाभग्राही प्रति जिम्मेवार र जवाफदेही बन्न आग्रह गरिन् ।
कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सामाजिक सङ्घ, संस्था विकासको साझेदार भएकाले स्थानीय तहले समन्वय र सहकार्य गर्ने बताए। उनले स्थानीय तहको साझेदारीमा संस्थाले राज्यका निकायले गर्नुपर्ने काम गरेको उल्लेख गरे। संस्था गरिब तथा असहायका लागि सहारा बनेको उल्लेख गर्दै उनले अभिभावकलाई आय आर्जनमा जोडेर उद्यमी बनाउन सहयोगी भूमिका खेलेको चर्चा गरे । वडाध्यक्ष आचार्यले राज्यसँगै सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै संस्थाको कार्यप्रति प्रशंसा गरे । आगामी दिनमा वडास्तरमा समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने उनको प्रतिबद्धता थियो ।

गैरसरकारी संस्था महासङ्घ कास्कीका अध्यक्ष इन्दिरा पौडेलले सामाजिक सङ्घ संस्था दातृ निकायमा भरमा मात्र नपरी आन्तरिक स्रोत बढाएर आत्मनिर्भर बन्न सुझाव दिइन्। संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले सरोकारवालासँग साझेदारी, समन्वय र सहकार्यमा काम गरेको जानकारी दिए। उनले संस्थाले विगत ३१ वर्षदेखि अनौपचारिक बस्तीमा बसोवास गर्ने बालबालिकाको शिक्षामा निरन्तर सहयोग गर्दै आएको बताए। उनले संस्थाले बालअधिकार प्रवर्द्धन, महिला सशक्तीकरण, सामाजिक रूपान्तरण, जलवायु परिवर्तनले पारेको प्रभावलाई कम गर्न तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा काम गर्दै आएको उल्लेख गरेका थिए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका पुर्व अध्यक्ष समेत रहेका सामाजिक लेखाजोखा सहजकर्ता दिपेन्द्र श्रेष्ठले “सामाजिक उत्तरदायित्व प्रवर्धन निर्देशिका २०७७” अनुसार संस्थाद्वारा सञ्चालन गरिएका कार्यक्रमहरूको समिक्षात्मक प्रस्तुति गरेका थिए । प्रस्तुतिमा कार्यक्रमको लक्ष्य, उपलब्धि, चुनौती तथा सिकाइका पक्षहरू समेटिएका थिए । उनले बहुपक्षीय ललित समूह बनाएर काम गर्न र छात्रवृत्तिमा विविधिकरण गर्न सुझाव दिए। उनले संस्थाले सुर्यमुखी हस्तकला उद्योग, इको सेन्टर, कृषि उपज तालिम लगायतका आन्तरिक श्रोतबाट संस्थाले ४० प्रतिशत श्रोत जुटाएको बताउदै यसलाई अझ बढाउन समेत सुझाब दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका अधिकृत अर्जुन न्यौपाने, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत टंकप्रसाद खनाल, असल छिमेकी सहयोग सङ्घ (गोनेसा) नेपालका कार्यकारी निर्देशक शिवराज शर्मा, वहिनी एडुकेयर फाउन्डेसनका कार्यकारी निर्देशक सुरेन्द्र परियार, संस्थाका कार्यक्रम अधिकृत रमेश सुवेदी, सहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारी लगायतले संस्थाका सवल र सुधार गर्नुपर्ने पक्षबारे बोलेका थिए । बालबालिकाको तर्फबाट क्यारिस्का नेपालीले आफ्नो अनुभव र अपेक्षा सुनाएकी थिइन् ।

















