पोखरा । १ सय ३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०८३ को अवसरमा पोखरामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  श्रम तथा रोजगार कार्यालय पोखराको आयोजनामा सो अन्तरक्रिया सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै श्रम तथा रोजगार कार्यालय पोखराका बरिष्ठ श्रम अधिकृत एवं कार्यालय प्रमुख चण्डिका पौडेलले श्रम तथा रोजगार कार्यालयले गर्ने कामबारे सर्वसाधारण नागरिकसम्म कार्यालयको कामबारे जानकारी पुराउने उद्देश्यले पत्रकारहरूसँग अन्तरक्रिया गरिएको बताए । संस्थाले गर्ने कामबारे जानकारी दिदैँ उनले श्रम तथा रोजगार कार्यालयले बालश्रम अनुगमन, व्यवसायजन्य अनुगमनसँगै श्रमिकले कानुनले तोकेको सेवा सुविधा प्राप्त गरेको छ वा छैन, श्रमिकको अवस्था कस्तो छ भन्ने लगायतका श्रम सम्बन्धी क्षेत्र हेर्ने गरेको बताए । रोजगारदाताबाट भएको शोषण अन्याय विरुद्ध उजुरी दिन सकिने बताए । 

अहिले न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रहेको र अन्य दायित्व थप्दा झण्डै २४ हजार हुन जाने बताउँदै यदि कुनै रोजगारदाताले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक प्रदान गरेको छैन भने त्यस्तो अवस्थामा पनि उजुरी दिन सकिने बताए ।

श्रम तथा रोजगार कार्यालयले श्रम कानुनहरूको आधारमा अर्धन्यायिक निकायका रुपमा काम गर्दै आएको बताए । हाल न्यूनतम पारिश्रमिक नपाएको गुनासो र उजुरीहरू कार्यालयमा बढि मात्रामा आउने गरेको बताए । श्रमिकहरू काम छोडिसकेपछि मात्र उजुरी दिन आउने प्रवृत्ति बढि मात्रामा रहेको उनले खुलाए ।

कार्यक्रममा शाखा अधिकृत प्रदिप कुमार ढकाल तथा नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेलले बोलेका थिए । नासु दिवाकर शर्माले सञ्चालन गरेको कार्यक्रममा कारखाना निरीक्षक ईश्वरमणि भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0