पोखरा । पोखरा जेसिजले वैशाख तेस्रो साता जेसिज सप्ताहन्त २०२६ को आयोजना गर्ने भएको छ । सन् १९७५ मा स्थापना भएको पोखरा जेसिजले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।‘परिष्कृत युवा, सशक्त नेतृत्व’ भन्ने मूल नाराका साथ सप्ताहन्तको अवसरमा यही बैशाख १८ गतेदेखि २० गतेसम्म बिभिन्न कार्यक्रम गर्ने जेसिजले जनाएको हो ।
बैशाख १८ गते कार्यक्रम उद्घाटनसहित वित्तीय साक्षरता कार्यक्रम हुनेछ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ सँगको सहकार्यमा युवाका लागि वित्तीय साक्षरतासहित उद्यमशीलता विकास तालिम सञ्चालन गरिने संयोजक एवं पोखरा जेसिजका उपाध्यक्ष ई। रवीन्द्र गोदारले जानकारी दिए । दोस्रो दिन बैशाख १९ गते कास्कीको मादी गाउँपालिका वडा नं. ९, मिजुरेमा निःशुल्क आँखा शिविर आयोजना हुनेछ । हिमालय आँखा अस्पतालको सहयोगमा स्थानीय समुदायलाई लक्षित गरी सो कार्यक्रम गर्न लागिएको हो । सप्ताहन्तको अन्तिम दिन बैशाख २० गते रक्तदान र बिजनेस आइडियासम्बन्धी कार्यक्रम गरिने संयोजक गोदारले बताए ।
नवप्रवर्तनकारी सोच भएका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पोखरा जेसिजका अध्यक्ष सुमन पहारीले जानकारी दिए । ५ दशकदेखि युवाको नेतृत्व र व्यक्तित्व विकासमा पोखरा जेसिजले निरन्तर काम गर्दै आएको उनको भनाइ छ ।
प्रचारप्रसार समिति संयोजक सञ्जय थापाले युवा लक्षित कार्यक्रमले समाजमा सचेतना वृद्धि गर्न सहयोग पुग्ने बताए । यस्ता विशेष कार्यक्रमलाई जेसिजले वार्षिक क्यालेण्डरमै समावेश गरेको उनले जानकारी दिए । पोखरा जेसिज वर्ष २०२६ का अध्यक्ष सुमन पहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव सञ्जय पौडेलले गरेका थिए ।
















