पोखरा। पोखराका तीन पत्रकार र एक संस्थालाई नेपाल पत्रकार महासङ्घको ७१ औं स्थापना दिवसको अवसर पारेर सम्मान एवम् पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले २०५५ सालमा स्थापना गरेको पोखरा पत्रकारिता सम्मान २०८१ बाट पत्रकार राज बहादुर गुरुङलाई नगद रु. ५० हजार ५ सय ५५ सहित र २०८२ बाट संस्थागत रुपमा महासङ्घलाई दिएको योगदान स्वरुप सहारा क्लबलाई सम्मानपत्र प्रदान गरेको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील गुरुङ हाल युनाइटेड खबर अनलाइनमा आवद्ध छन् ।
यस्तै पोखराका प्रथम पत्रकार स्व.जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैयाँ , दोसल्ला र सम्मान पत्र सहित मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र जगन्नाथ सिग्देल परिवारले उनीहरूलाई सम्मान अर्पण गरे । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशील अधिकारी हाल गोरखापत्र साथै समाधान दैनिक र गिरी सफल न्युजमा आवद्ध छन् ।
सम्मानित व्यक्तित्वलाई बधाई दिदैँ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले आमनागरिकलाई सत्यतथ्य सूचना र समाचार पैल्याउन गाह्रो रहेको अहिलेको अवस्थामा जिम्मेवार र मर्यादित पत्रकारिता आवश्यक रहेको बताए ।
शक्तिशाली सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न सक्ने सङ्केत गर्दै पत्रकारिताले निष्पक्ष रुपमा प्रतिपक्षको भूमिका निभाउन पर्ने औँल्याए ।
कार्यक्रममा सङ्घ संस्थाको तर्फबाट लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारी , प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, अग्रज पत्रकार कुसुमकेशव पराजुली लगायतले बोलेका थिए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र सञ्चालन भुपाल गुरुङले गरेका थिए ।
वि.सं. २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार महासङ्घले यस वर्षको ७१ औं स्थापना दिवस मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार : श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार भन्ने नाराका साथ देशभरका शाखाहरूमा विभिन्न कार्यक्रम गरि मनाएको हो ।















