पोखरा । हार्ट माइन्ड कन्सल्टेन्सी पोखराले सञ्चालन गरेको ६ महिने मनोसामाजिक, मनोविमर्शको तालिम १६ जनाले पुरा गरेका छन् । तालिम अन्तर्गत दोश्रो र तेश्रो व्याजका गरेर १६ जनाले मनोविमर्शको तालिम पुरा गरेका हुन् । तालिम ६ महिना अर्थात ७ सय ८० घण्टा पुरा भए पछि शनिवार एक कार्यक्रमको आयोजना गरि संस्थाले प्रमाणपत्र बितरण र अनुभव आदान प्रदान गरि तालिम लिएकाहरूलाई बिदाई गरेको हो ।
तालिममा सहभागी हुन दाङ, चितवन, पोखरा, स्याङजा लगायतका जिल्लाबाट उनीहरू पोखरा आएका हुन् भने, सहभागी हुनेहरू प्राय सरकारी शिक्षक, नर्स, गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू रहेको कन्सल्टेन्सीका निर्देशक सुदीप घिमिरेले बताए ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक विनोद बिन्दु शर्माले तालिम पश्चात सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न र समाजमा प्रयोग गर्न आग्रह गरे। उनले प्रदेश तालिम केन्द्रले समेत मनोविमर्शको तालिम प्रदान गर्दै आइरहेको बताउँदै हार्ट माइन्ड कन्सल्टेन्सीले सञ्चालन गर्ने तालिम बहुउपयोगी भएको उल्लेख गरे ।
प्रादेशिक तालिम केन्द्र गण्डकीका जनस्वास्थ्य अधिकृत लालप्रसाद शर्माले मनोविमर्शको तालिम समाजका हरेक क्षेत्रमा आवश्यक रहेको बताए ।
कन्सल्टेन्सीका निर्देशक घिमिरेले गण्डकी प्रदेशमानै पहिलो पटक मनोसामाजिक मनोविमर्शको तालिम सिटिइभिटीबाट सम्बन्ध प्राप्त गरि सञ्चालन गरेको बताए । उनले सुरुवातको चरण निकै चुनौतिपूर्ण रहेको बताउँदै स्थानिय तह र प्रदेश सरकार सँग सहकार्य गरेर आगाडि बढ्दै जाने उल्लेख गरे । साथै उनले संस्थाको आगामी योजनाको बारेमा जानकारी गराएका थिए ।
सहभागीको तर्फबाट सरस्वती भण्डारी र मुना विकले तालिम पश्चात मनोसामाजिक स्वास्थ्यको क्षेत्रमा काम गर्न सक्ने भएको बताए भने ६ महिना अवधिभरको आफ्नो अनुभव पनि शेयर गरेका थिए । कार्यक्रममा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका सूचना प्राविधिक सहायक रविन्द्र लामिछाने रेडियो अन्नपूर्णका सञ्चारकर्मी सविन रेग्मी लगाएको सहभागिता रहेको थियो ।















