पोखरा । नेकपा एमालेको ११ औ महाधिवेशनमा सचिव पदमा निर्वाचित खगराज अधिकारीले मतदाता प्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले  आफ्नो जित सबैको भरोसा, साथ र उत्साहको परिणाम भएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उल्लेख गरेका छन् । ‘तपाईंहरूको अमूल्य मत, विश्वास र सक्रिय सहभागिताका कारण आज नेकपा (एमाले ) को सचिव पदमा विजय हासिल गर्न सफल भएका छु । यो जित केवल मेरो होइन, तपाईं प्रत्येकको भरोसा, साथ र उत्साहको परिणाम हो’ उनले लेखेका छन् ।

अधिकारीले प्राप्त जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र समर्पणका साथ पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । ‎’चुनाबको सम्पूर्ण प्रक्रियामा देखाउनु भएको समर्थन र सहयोगका लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु। अब तपाईंहरूको अपेक्षा र विश्वासलाई कर्ममा रूपान्तरण गर्दै इमानदारी, पारदर्शिता र समर्पणका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।’  उनले भनेका छन् ।

अधिकारीले विहीबार सम्पन्न मतगणनामा एक हजार तीन सय ३१ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन् । कास्की क्षेत्र नम्बर १ (१) बाट निर्वाचित उनी गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता हुन् । उनी नेपाल सरकारका पूर्व स्वास्थ्यमन्त्री र पूर्व गृहमन्त्रीसमेत हुन् । यसअघि एमाले स्थायी कमिटी सदस्य रहेका उनले पार्टीको सङ्गठन विभाग प्रमुख लगायतका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । उनी कास्कीबाट निर्वाचित हुने पहिलो केन्द्रीय पदाधिकारी बन्दै इतिहास कायम गर्न यसपाली सफल भए।

अधिकारी सहित सचिवमा महेश बस्नेत, पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, हिक्मतकुमार कार्की, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल बिजयी भएका छन् ।

महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतले पराजित गरे । केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६ सय ६३ मत प्राप्त गरेका थिए भने प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरे  । त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २ सय २८ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९ सय ९९ मत प्राप्त गरे ।

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ १ हजार ७ सय ३७ मत, विष्णुप्रसाद पौडेलले १ हजार ६ सय ७५ मत, रामबहादुर थापाले १ हजार ५ सय १६ मत, गोकर्णराज विष्टले १ हजार ३ सय ६८ मत र रघुजी पन्त १ हजार २ सय ५८ मतका साथ विजयी भए । त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १ हजार ४ सय ५२ मत, रघुवीर महासेठले १ हजार ३ सय ६८ मत र योगेश भट्टराई १ हजार ३ सय ४८ मतका साथ विजयी भए । 

अन्तिम मत परिणाम अनुसार  ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित सबैको सपथ ग्रहण कार्यक्रम समेत सम्पन्न भइसकेको छ । ११ औ महाधिवेशनमा ओली र पोखरेल प्यानल सहित निर्वाचनमा होमिएका थिए । जसमा अधिकांश ओलि प्यानलबाट निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0