पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका वडा नम्बर ९ को संयुक्त आयोजनामा कार्यक्रम हुने स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले जानकारी दिए । कार्यक्रमको तयारीमा तीव्रता दिइएको उनको भनाइ छ । रेडियोको रजत वर्षको अवसरमा वर्षभरी १२ महिना १२ कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गर्न लागिएको हो
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले नेपाली साङ्गीतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका स्रष्टाहरूको स्मृतिमा आयोजना गरिएको कार्यक्रमको बेग्लै गरिमा रहने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी हुन उनले वडावासीलाई आग्रह समेत गरेका छन् । रेडियोको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा वडा कार्यालय जोडिन पाएकाेमा खुशी व्यक्त गरे । वडाले गीत संगीत, कला, साहित्यको क्षेत्रलाई समेत महत्व दिने गरेको उनको भनाइ छ ।
कार्यक्रम पोखराको महेन्द्रपुलमा रहेको फाल्चामा साँझ साढे ४ बजेबाट सुरु हुने कार्यक्रम संयोजक राजाराम पौडेलले जानकारी दिए । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा उपस्थित भएर सारङ्गीका धुन मार्फत झलकमान गन्धर्व र नारायण गोपाललाई स्मरण गर्न सकिने भएकोले सबैजनालाई उपस्थित भएर साथ दिन संयोजक पौडेलले आग्रह गरेका छन् । कार्यक्रममा झलकमान गन्धर्व सारङ्गी पाठशालामा अध्ययनरत विद्यार्थीले सारङ्गीको धुनमा झलकमान र नारायण गोपालका गीत सुनाउनेछन् ।
कार्यक्रमलाई भव्य बनाउन प्रवर्द्धकको रुपमा पोखरा महानगरपालिका वडा नम्बर ३, वडा नम्बर ११ र वडा नम्बर १२ सहित पोखरा इन्टरनेट, परिचय एडभरटाइजिङ, पालिखे ढाका टोपी, एस.के साउन्ड, रूपाकोट ज्योति सुनचाँदी पसल, सिटीवान टेलिभिजन र नेवा मिस: पुच: कास्की लगायतको सहयोग समेत रहने छ ।
रेडियोले हरेक वर्ष नारायण गोपालको स्मृतिमा नारायण गोपाल साँझ गर्दै आइरहेको थियो । रजत वर्षको अवसरमा यस अगाडि रेडियोले पोखरा १४ मा रहेको वात्स्यायन वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा सहयोग, बिभिन्न बहस मूलक कार्यक्रम, जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीमा स्टेसनरी सामाग्री वितरण, प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ, झलकमान गन्धर्व सारङ्गी पाठशालाका विद्यार्थीलाई राष्ट्रिय पोशाक सहयोग लगायतका काम गरिसकेको छ ।
रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २५ वर्षको अवधिमा रेडियोले सञ्चार क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको छ ।










