पोखरा । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा पश्चिम नेपालमा तीन दिने जाउँ है बेगनास पोखरा कार्यक्रम सुरु भएको छ ।
पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेत लगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रर्वद्धनात्मक टोलीलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बिदाइ गरेका थिए ।
टोलीले आइतबार बुटबलमा त्यहाँका पर्यटन व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरेको छ । कार्यक्रममा होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष बीरभद्र कँडेलले आन्तरिक पर्यटनको प्रवर्द्धनसँगै पर्यटकीय साझेदारी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का सह संयोजक दामोदरभक्त थापाले लेखनाथ क्षेत्रमा रहेका रामसार सूचीमा सूचिकृत बेगनासताल, रुपाताल लगायतका सात ताल आफैमा धेरै पर्यटकीय सम्भावना बोकेको बताए ।

पोखरा सहित लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यमा आउन उनले बुटबलका पर्यटन व्यवसायीसँग आग्रह गरे । पर्यटकीय साझेदारीका लागि आफूहरू तयार रहेको उनको भनाइ छ ।
उक्त अवसरमा उहाँले बेगनास ताल सहित लेखनाथका तालहरूको परिचयात्मक भिडियो प्रस्तुत गरेका थिए । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष कंडेलले पोखरा आएका पर्यटकलाई बुटबल पठाउने र बुटबल आएका पर्यटकलाई पोखरा पठाएर दुबै क्षेत्र लाभान्वित बन्ने धारणा राखे ।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले पोखरासँग रूपन्देही पर्यटकीय साझेदारीका लागि तयार रहेको बताउँदै आफूहरूले बुटवलमा आएका पर्यटकलाई पोखरा पठाउने गरेको बताए।
रूपन्देही गौतमबुद्धको जन्मस्थलसँगै धेरै ऐतिहासिक महत्वका स्थलहरू रहेको उनले जानकारी दिए ।पोखरा महानगरपालिकाका लेखा अधिकृत छविलाल शर्माले आपसी भाइचारासँगै साझेदारीमा जोड दिदैँ यसबाट दुबै गन्तव्यहरू लाभान्वित हुने बताए ।
होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका महासचिव सुरेश लामिछानले तीन दिने प्रवर्द्धनात्मक कार्यक्रमका साथ आफूहरू बर्दिया हुँदै सुर्खेतसम्म पुगी पर्यटन सम्बद्ध व्यवसायीसँग छलफल एवम् अन्तरक्रिया गरी पोखरा फर्कने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा बुटबल क्षेत्रमा क्रियाशील पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मीको उपस्थिति थियो ।
















