पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि गण्डकीमा मतदाता नामावलीमा नाम दर्ता कार्य भइरहेको छ । निर्वाचन आयोगले असोज १२ देखि कार्तिक मसान्तसम्म समयावधि तोकेकोमा गण्डकीमा हालसम्म २७ सयभन्दा बढिले नाम दर्ता गरिसकेका छन् । नाम दर्ता गर्नेमध्ये सबैभन्दा बढि जेनजी पुस्ताका युवाहरू रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । दर्ता गरेका ९० प्रतिशत मतदाता जेनजी पुस्ताको भएको उनले खुलाए । गण्डकीमा औसतमा दैनिक ८० देखि ९० जनाले नाम दर्ता गराइरहेको सूचना अधिकारी न्यौपाने बताउँछन् । जसमा कास्की जिल्ला सबैभन्दा अगाडि रहेको छ । कास्कीमा दैनिक १ सय ५० देखि २ सय जनाले मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन् ।
मतदाताले निर्वाचन आयोगको इलेक्सन डट जिओभी डट एनपी को वेबसाइट (www.election.edu.np) मा गएर प्रारम्भिक जानकारीहरू पेस गर्न सकिन्छ । अनलाइनमार्फत पेस गरिएका विवरणहरू भने नजिकैको निर्वाचन कार्यालयमा गएर, बायोमेट्रिक फोटो र औँठाछापको छाप लिई नाम दर्ता गर्ने व्यवस्था रहेको छ । मतदाता नामावलीमा भएका त्रुटिहरु सच्याउनुपर्ने भएमा र मतदाता नामावलीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्ने भएमा प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदाता नामावली अद्यावधिकको काम समेत भइरहेको सूचना अधिकारी न्यौपानेले उल्लेख गरे ।
अनलाइनबाटै दर्ता गर्न सकिने भएकाले लामो समय लाइन बस्नुपर्दैन । निर्वाचन कार्यालय पोखरामा हाल दुईवटा केन्द्र स्थापना गरि नामावली दर्ताको काम भइरहेको छ । एकजनाले एक मिनेटभित्र नाम दर्ता गर्न सकिन्छ ।
निर्वाचन कार्यालय पोखरामा आगामी निर्वाचनका लागि मतदान केन्द्र र मतदान स्थलहरू पुनरावलोकनको काम भइरहेको जनाईएको छ । निर्वाचनमा पर्यवेक्षण गर्न चाहने संस्थाहरूलाई निवेदन दिनका लागि आह्वान समेत गरेको छ ।
सूचना अधिकारी न्यौपानेले वि.सं.२०७३ साल अगाडि आफ्नो घरजग्गा भएको स्थानबाटै मतदान गर्न पाउने व्यवस्था रहेकोमा अहिले ऐन संशोधन पश्चात स्थायी ठेगानाबाटै मतदान गर्ने व्यवस्था रहेकाले मतदाताहरूलाई नझुक्किन आग्रह गरे । उनले मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, बसाइ सराइ र विवाहदर्ताको प्रमाणपत्र नछुटाउन आग्रह गरे ।











