पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा मेडीकल एण्ड वेलनेस टुरिजमको प्रचुर सम्भावना रहेको बताएका छन् । पोखरामा सोमबार आयोजित नेपालको सन्दर्भमा चिकित्सा र आरोग्य पर्यटन सम्बन्धी राष्ट्रिय कार्यशालाको उद्‌घाटन समारोहमा बोल्दै मेयर आचार्यले दिगो पर्यटन विकासका लागि पर्यटनभित्रका आयामहरू मध्ये आरोग्य पर्यटन महत्वपूर्ण रहेको बताए । उनले प्रकृति, संस्कृति र साहसिक पर्यटनको सहर पोखरामा आरोग्य पर्यटनमार्फत स्वदेशी र विदेशी सबै खालका पर्यटकहरूलाई आकर्षित गरेर पर्यटकको बसाइ थप लम्ब्याउन सकिने उल्लेख गरे । उनले पर्यटकको आरोग्यताको ग्यारेन्टी दिनसकेमा स्वास्थ्य एवं आरोग्य पर्यटन विकास गर्न सकिने उनको दावी थियो ।

मेयर आचार्यले वेलनेस टुरिजममा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय लगानी, पूर्वाधार विकास र उचित प्रवर्द्धनको अभावमा अपेक्षित विकास गर्न नसकिएको स्विकार गरे । उनले पोखरामा वेलनेस टुरिजम विकासका लागि सबै पर्यटन व्यवसायीहरू, पर्यटनसम्बन्धी काम गर्ने निकाय र सरकारले आआफ्नो क्षेत्रबाट आरोग्य पर्यटनमा आफ्नो भूमिका जिम्मेवारपूर्ण ढङ्गले निभाउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछानेले स्वास्थ्य सेवाको हिसाबले काठमाडौँ पछाडि पोखरा दोस्रो स्थानमा रहेकोमा अहिले चितवन, बुटवल भैरहवाले उछिनेको बताउँदै पोखरालाई जसरी अगाडि विकास गर्नुपर्ने थियो त्यो नभएको बताए । उनले राजनीतिक पार्टी लगायत सरोकारवालाहरूले पनि विकासलाई भाषणमा मात्र सीमित राख्दा अपेक्षित उपलब्धि हासिल हुन नसकिएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले विदेशी पर्यटक मात्र नभई नेपालीहरूले समेत अहिलेको व्यस्त जीवनशैलीबाट विश्रामका लागि “घरभन्दा परको घर” को अवधारणा अनुसार योग, ध्यान आदीका लागि निस्कने गरेको बताए । नेपालको विशेषगरी पोखरा आरोग्य पर्यटनमात्र नभई स्वास्थ्य र शैक्षिक पर्यटनका हिसाबले समेत प्रचुर सम्भावना रहेको उनको भनाई छ । नेपालमा अन्य देशको तुलनामा मेडिकल साइन्स अध्ययनका लागि सस्तो पर्ने र बस्नको लागि समेत उपयुक्त हावापानी भएकाले विद्यार्थीहरूको आकर्षण बढ्दो रहेको बताए । उनले नेपालमा आँखा र दाँतको उपचार पनि राम्रो र सुलभ हुने भएकाले स्वास्थ्य पर्यटनको सम्भावना रहेको बताए ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराईले पछिल्लो समय नेपाल योग, ध्यान र आयुर्वेदिक चिकित्साको हबका रुपमा विकास भइरहेको बताए । विभिन्न मुलुकका पर्यटकहरूले व्यस्त जीवनशैलीबाट पुनर्ताजगीका लागि नेपाललाई रोजेको पाइएको बताउँदै यस्ता सन्देशहरू विश्वमा फैलाउन सके आरोग्य पर्यटन प्रबर्द्धन गर्न सकिने बताए ।

आईसीपीडी नेपालका अध्यक्ष डा। पूर्ण कान्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मेडि कनेक्ट पोखराका प्रबन्ध निर्देशक डा। गिरिधारी शर्माले स्वागत र मेडि कनेक्ट पोखराका अध्यक्ष विष्णु प्रसाद भुषाल धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा अफिन गण्डकीका सचिव सुर्य प्रसाद पोखरेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डुक बहादुर क्षेत्रीले बोलेका थिए । कार्यक्रमको सञ्चालन शोभा केसीले गरेकी थिईन् । कार्यशालामा ४० भन्दा बढीको सहभागिता रहेको आयोजकको भनाइ छ ।

आईसीपीडी नेपाल र मेडि कनेक्ट पोखराको आयोजना एवं पोखरा महानगर पालिकासँगको साझेदारीमा एकदिने कार्यशाला सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0