पोखरा। प्रेस चौतारी नेपालले केन्द्रीय अध्यक्ष गणेश पाण्डेको लमजुङ बेसीसहरस्थित घरमा गएराति अज्ञात समूहले ढुङ्गा प्रहार गरी तोडफोड गरेको घटनाप्रति निन्दा प्रकट गरेको छ ।
महासचिव हिरामान लामाद्वारा आज जारी विज्ञप्तिमा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, श्रमजीवी तथा व्यावसायिक पत्रकारहरूको संस्थाको केन्द्रीय अध्यक्षकै घरमा यस्तो आक्रमण हुनु अत्यन्त गम्भीर र निन्दनीय कार्य भएको जनाइएको छ ।
“यो आक्रमण योजनाबद्ध रूपमा गरिएको हाम्रो निष्कर्ष छ । गत भदौ २४ गतेदेखि सामाजिक सञ्जालमा अध्यक्ष पाण्डेविरुद्ध उत्तेजना फैलाइ घरमा आक्रमण गर्न आह्वान गरिनु र गएराति आक्रमण हुनुले यो षड्यन्त्रपूर्वक आयोजना गरिएको स्पष्ट प्रमाणित भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
चौतारीले कलमजीवीलाई दबाउने प्रयास सफल नहुने भन्दै घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्नलाई तत्काल कानुनी कठघरामा उभ्याउन सुरक्षा निकाय र प्रशासनसँग माग गरेको छ ।
ढुङ्गा प्रहारबाट अध्यक्ष पाण्डेको घरका झ्यालका सिसाहरू फुटेका र उनकी ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको चौतारीले जनाएको छ ।
यसैबीच प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको घरको झ्याल तथा बेसिशहर–८ झ्याङखोला स्थित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको भवनको पछाडिको झ्यालमा अज्ञात व्यक्तिहरूद्वारा ढुङ्गा प्रहार गरी सिसा फुटाएको सम्बन्धमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यसरी पक्राउ पर्नेमा बेसिशहर–८ काआयुष आलेमगर र प्रदिप तामाङ, बेसिशहर–१० का योगेश तामाङ रहेका छन् ।
आज बिहान सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटाई अनुसन्धान कार्य प्रारम्भ गरिएको र अनुसन्धानका क्रममा घटनामा संलग्न रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।










