पोखरा । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले नवनिर्मित प्रहरी कल्याण कोष नमुना पेट्रोल पम्प पोखराको शुक्रबार एक कार्यक्रमबीच भर्चुअल रुपमा उद्घाटन गरेका छन् । कार्यक्रममा प्रहरी महानिरीक्षकको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख दिनेश कुमार आचार्यले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण अवलोकन समेत गरे ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न हरेक क्षेत्र तथा समुदायसँग सहकार्य गर्दै आइरहेको चर्चा गर्दै गुणस्तरीय इन्धनको माध्यमबाट नागरिक र प्रहरीबीचको समन्वय, सहकार्य र विश्वासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक खापुङले नेपाल प्रहरी शान्ति सुरक्षा तथा कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य सङ्गठनको रूपमा रहेको बताउँदै सो भरोसालाई जीवन्त बनाई राख्न समायानुकुल परिवर्तित आम जनअपेक्षा अनुरूपको नागरिकमैत्री कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की एवम् कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जय सिंह थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
साथै उक्त अवसरमा प्राविधिक प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रताप महतोले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल प्रहरी कल्याण कोषको कुल ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रुपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।
वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।












