पोखरा । पोखरामा सार्वजनिक ट्याक्सी सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यले  ‘मुभइन’ अनलाइन एप तयार गरिएको छ । सार्वजनिक ट्याक्सीलाई अनलाइन मार्फत बुकिङ गरेर सेवा लिन गर्न मिल्नेगरी सोमबारदेखि  ‘मुभइन’ नामको एप सुरु गरिएको हो । ट्याक्सी चालकले मनपरी भाडा लिने गरेको चौतर्फी आलोचनालाई चिर्न  एप सुरु गरिएको  ‘मुभइन नेपाल’का प्रमुख कार्यकारी अधिकृत एवं संस्थापक प्रमेश पराजुलीले जानकारी दिए । 

पोखराबाट सुरु गरिएको यो एपलाई विस्तारै देशका अन्य शहरहरूमा समेत लैजाने बताउँदै संस्थापक पराजुलीले एपमा हालसम्म १ हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेको जानकारी दिए । पोखरामा हाल करिब २ हजार ट्याक्सी सञ्चालनमा छन् । यसले यात्रीहरूलाई आफ्नै गेटबाट ट्याक्सी सेवा प्राप्त गर्न सहज हुनेछ ।  

यो एप पोखराकै आईटी इन्जिनियर रविन तिवारी र उनको ४५ जना प्राविधिक टोलीले १ वर्षको समय लगाएर तयार गरेको हो । कार्यक्रममा एप सञ्चालनका लागि लाइभ डेमोसमेत प्रस्तुत गरिएको थियो । 

एपको शुभारम्भ समारोहमा प्रमुख अतिथि नेपाल यातायात व्यवसायी  राष्ट्रिय महासङ्घ  वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला सरोजले जेनजी पुस्ताको माग बमोजिम नै  यातायात व्यवसायी पनि परिमार्जित हुँदै प्रविधिमैत्री बन्न तयार रहेको सन्देश यही एपबाट प्रवाह भएको तर्क गरे ।  चार पाङ्ग्रे सवारी साधनलाई समेत यसमा समेट्नुपर्ने उनको सुझाव छ ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेलले ‘मुभइन’सँगको सहकार्यले पोखराको ट्याक्सी सेवामा ठुलो परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले पोखराका ट्याक्सीहरूलाई प्रविधिको विरोधीको रूपमा हेरिएको धारणा गलत साबित भएको भन्दै अब एप्लिकेशनमार्फत सेवा दिने बताए । पटकपटक सङ्घ, प्रदेश र स्थानीय सरकारसँग छलफल पछि आफूहरू प्रविधिमार्फत जान लागेको बताए ।

कार्यक्रममा एवान ग्रेटर नेपाल प्रालि पोखराका अध्यक्ष अर्जुन पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका ट्याक्सी तर्फका वर्गीय संयोजक प्रकाश मणि तिवारी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश प्रमुख केदार प्रसाद पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ वरिष्ठ उपाध्यक्ष ऐन कुमार साइ लगायतले बोलेका थिए । 

प्रारम्भिक चरणमा ‘मुभइन नेपाल’ले चालकहरूबाट कुनै पनि कमिसन नलिने निर्णय गरेको छ । चालकहरूले एपमा ‘लाइभ’ देखिनका लागि न्यूनतम ५०० रुपैयाँको ब्यालेन्स राख्नुपर्नेछ, तर यो रकम काटिने छैन । सुरुमा एपको प्रयोगबारे जनचेतना जगाउन प्रयास गरिने र बिस्तारै व्यावसायिक बनाउँदै लैजाने जनाईएको छ ।  ‘मुभईन’ एप्सलाई पोखरेली ट्याक्सी सेवा प्रालिले अपनत्व लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0