पोखरा । आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको पोखरा महानगरपालिका वडा नं. १५ ले अबको एकहप्ता भित्र वडाकार्यालयको सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउने जनाएको छ । वडाअध्यक्ष तोरण बहादुर बानियाँले जेनजी आन्दोलनको क्रममा घुसपैठका कारण भएको आगजनी र तोडफोडबाट वडामा पुगेको क्षतिलाई वडाको बजेटबिना वडावासी र स्थानीय सङ्घसंस्थाको सहयोगमा पुरानै अवस्थामा फर्काउने बताएका हुन् ।

उनले गत भदौ २४ गते आगजनी र तोडफोड हुँदा दुई तल्लाको वडाकार्यालयको माथिल्लो तल्ला प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको र भुइतल्लाको दुईवटा कोठामा आगलागी भएको तथा तीन वटा कोठामा तोडफोड र लुटपाट भएको बताए । वडाको सेवा पुनः सुरु गर्नका लागि सहयोगहरू आउने क्रम सुरु भइसकेकोमर्मतपश्चात् प्रयोग गर्न मिल्ने अवस्थामा रहेको भुइँतल्लामा रङ्गरोगनसहित आवश्यक कम्प्युटर तथा फर्निचरका सामानहरू व्यवस्थापनको काम भइरहेको बताए । उनले अबको एक हप्ताभित्र वडाकार्यालयले पूर्ण क्षमतामा सेवा प्रवाह गर्न सक्ने बताए । 

वडा नं. १५ ले पहिलो तल्ला दुईवर्ष अगाडिमात्र थपेको थियो । तर जेनजी आन्दोलनको क्रममा भएको आगजनीले पहिलो तल्ला पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ । अध्यक्ष बानियाँका अनुसार वडामा रहेको १० वटा कम्प्युटर, १० प्रिन्टर, ६ वटा टेबल, ५ वटा दराज र कुर्सीहरू सबै जलेर नष्ट भएको छ भने एउटामात्रै प्रिन्टर जोगिएको छ । कतिपय सामाग्रीहरू लुटपाट समेत भएको अध्यक्ष बनियाँले बताए ।

उनले अहिलेको अवस्थामा नागरिकहरूलाई सेवा प्रवाह गर्नका लागि वडालाई स्थानीयको साथ, समर्थन र सहयोगको आवश्यकता रहेको बताए । साथै आगामी दिनहरूमा हुने प्रदर्शन र आन्दोलनमा नागरिकले सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

वडाकार्यालयले हाल अत्यावश्यक सेवाहरू मुख्य भवन अगाडिका कोठा र खुल्ला चौर मार्फत दिइरहेको छ ।  दशैँ नजिकिँदै गएकोले वडामा विशेषगरि सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आउने सेवाग्राहीको चाप बढि देख्न सकिन्छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0