पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारी जिल्ला दौडाहमा निस्किएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएको क्षतिको निरीक्षण र यस परिस्थितिमा नेता तथा कार्यकर्ताको मनोबल उच्च पार्दै पुन: पहिलाकै रफ्तारमा अगाडि बढ्न उत्प्रेरित गर्ने लक्ष्यका साथ उनी जिल्ला-जिल्लामा पुगेका हुन् ।

निरीक्षणका क्रममा पर्वत, बागलुङ र म्याग्दी जिल्लाका पार्टी कार्यालयमा पुगेका उनले स्थानीय नेता कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन् । उनले एमालेका नेताको व्यक्तिगत सम्पत्तिमा भएको हानी नोक्सानीको पनि अवलोकन गरेका थिए । अवलोकनका क्रममा दोषीलाई कारवाही गर्ने र प्रमाण सङ्कलन गर्ने कुरामा नेता तथा कार्यकर्ताले प्रशासनलाई सहयोग गरिरहेको पाएको उनले बताए । यस्तो विषम परिस्थितिमा पनि पार्टी काम सँगसँगै जनताका काममा अहोरात्र रुपमा खटिएका नेता तथा कार्यकर्ता देखेर आफैलाई पनि उर्जा थपिएको उनले उल्लेख गरेका छन् ।

अधिकारीले जेनजीको नाउँमा घुसपैठ गरेर सङ्गठित रूपमै एमाले कार्यालयमा आक्रमण भएको दावी गरेका छन् । अनुगमनका क्रममा पर्वत पार्टी कार्यालयमा भएको आगजनीबारे गोविन्द पहाडी, घरमा आगजनी भएकोबारेमा पदम गिरी, बागलुङमा भएको तोडफोडबारे अध्यक्ष हिराबहादुर केसी, म्याग्दी पार्टी कार्यालयमा भएको तोडफोडबारे अध्यक्ष बालकृष्ण सुवेदीले नेता अधिकारीलाई जानकारी गराएका थिए ।
पार्टीका नेता तथा कार्यकर्तालाई भेटेर धैर्य रहन र पार्टी सङ्गठनमा लागिरहन निर्देशन दिए । उनले पार्टीको बैठकबाट सबै समीक्षा गर्ने पनि बताए ।

पार्टी संसदीय दलका नेता अधिकारीको नेतृत्वमा प्रदेशका क्षतिग्रस्त सबै जिल्ला र पार्टी कार्यालयको निरीक्षण, अनुगमन कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने पार्टी प्रदेश कमिटीका सचिवालय सदस्य तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले जनाए।












