पोखरा । जननेता मदन कुमार भण्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा पोखरामा विचार गोष्ठी आयोजना हुने भएको छ । नेकपा एमाले पोखरा महानगरपालिका कमिटीको आयोजनामा असार १४ गते पोखरा सभागृह हलमा गोष्ठी आयोजना गरिएको अध्यक्ष जीवन प्रसाद आचार्यले काेटखबरलाई जानकारी दिए । 

गोष्ठीलाई नेकपा एमालेका महासचिव शङ्कर पोखरेल सहितका नेताले सम्बोधन गर्नेछन्। सोही कार्यक्रममा पोखरा महानगरकमिटीको मुखपत्र ‘अभियान संस्करण २’ पुस्तकको विमोचन समेत हुने उनले खुलाए । कार्यक्रमलाई भव्य बनाउनको लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष आचार्यको भनाइ छ । 

जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुनका लागि नेकपा एमालेका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सबै कस्केली जनसमुदायलाई उनले आग्रह समेत गरेका छन् । कार्यक्रम शनिबार बिहान साढे ११ बजेबाट सुरु हुने उनले काेटखबरलाई बताए ।

नेपाली कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरेका भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । भण्डारीले २०४८ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो। विश्वमै कम्युनिस्ट शासन र पार्टीहरु धराशायी भएका बेला नेपालमा जबजमार्फत भण्डारीले गरेको प्रतिस्पर्धात्मक राजनीतिको विश्वमै चर्चा भएको थियो । भण्डारीकाे जन्मजयन्तीको अवसरमा एमालेले देशैभर विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0