पोखरा । गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि स्वीकार्य नहुने बताएका छन् । पोखरामा शुक्रबार आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले पूर्वराजावादी या अरू कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने कार्य कुनै पनि हालतमा क्षम्य नहुने स्पष्ट पारेका हुन् ।

अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख जिम्मेवारी भएको उनको भनाइ छ । ठूलो बलिदानबाट यो संविधान र व्यवस्था बनेको गृहमन्त्री लेखकको भनाइ थियो । साथै उनले संविधान निर्माणको १० वर्षमा लागेको बताउँदै संविधान संसोधन अग्रगामी हुने तर व्यवस्था नै उल्टाउने खालका पश्चगामी संशोधन कदापि हुन नसक्ने बताए । ठूला दलहरूबीच सहमतिका आधारमा संविधान संशोधन गरेर र लोकतान्त्रिक सङ्घीयता व्यवस्थालाई बलियो बनाउने गृहमन्त्री लेखकको भनाई छ । 

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सङ्घीय सरकारले बनाएको कानुन लागू हुन नसक्दा प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठ्न थालेको बताए । उनले संविधानमा प्रदेशको सुरक्षाको जिम्मेवारी प्रदेश सरकार मातहत नै हुने उल्लेख भएपनि हालसम्म प्रहरी समायोजन हुन नसकेकोप्रति गुनासो गरे । प्रदेश समन्वय परिषद, राष्ट्रिय  समन्वय परिषद, राष्ट्रिय समस्या समाधान समिति लगायतको बैठकमा सुनाउँदै आएपनि हालसम्म सुनुवाइ नभएको गुनासो गरे । 

पछिल्ला वर्षमा लागूऔषधको बढ्दो प्रयोग, आत्महत्या, सवारी दुर्घटना, साइबर अपराध, प्राकृतिक विपद् आदि चुनौतीका रूपमा देखापरेकाले यी सबै चुनौतीको समाधान गर्नेतर्फ सरकार निरन्तर क्रियाशील रहेको उनले बताए । साथै, सेवा प्रवाहलाई प्रभावकारी बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री लेखकले जनतालाई सेवा दिने कुरामा कुनै कसर बाँकी नराख्न आग्रह गरे ।    

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने काम अन्तिम चरणमा पुगेको बताए । अन्य चुनौतीहरू समाधानको बाटोमा रहेको बताउँदै हाल प्रदेशमा लागू औषध दुरुपयोग र आत्महत्या मुख्य चुनौतीका रुपमा रहेको बताए । दैनिक दुई देखि तीनजनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सुनाउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या न्यूनीकरण गर्नु पनि अहिले प्रदेश सरकारको मुख्य चुनौतीका रुपमा रहेको बताए ।

गोष्ठीमा ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका सबै जिल्लाको सुरक्षा अवस्था, चुनौती, योजना र रणनीतिबारे छलफल भएको थियो ।  गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गृहमन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले स्वागत गरेका थिए । 

शुक्रबारनै सङ्घीय सरकारको मातहतमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा रहेको आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । गृहमन्त्री लेखकले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गोदामघरको चाबी हस्तान्तरण गरेका हुन् ।  मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गोदामघर हस्तान्तरणसँगै विपद् उद्धार कार्यलाई एकद्वार प्रणालीमार्फत गर्न सहयोग पुग्ने बताएका छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0