पोखरा । पोखरामा बैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट महायज्ञको पूर्वसन्ध्यामा सञ्चालित श्रीमद्भागवत कथा प्रवचनका लागि कथावाचका देवी प्रतिभा पोखरा आइपुगेकी छन् । देवी प्रतिभा आज अङ्गरक्षक र वाद्यवादनको टोलीसहित बिरौटामा जारी श्रीमद्भागवत कथा प्रवचन कार्यक्रममा आइपुगेकी हुन् । 

देवी प्रतिभालाई महायज्ञका संकल्पकर्ता विजय कृष्णमूर्ति, विश्व हिन्दु महासङ्घका उपाध्यक्ष शङ्कर खराल लगायतले स्वागतपछि कोटिहोमस्थल पुर्‍याएका थिए । प्रतिभालाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् । २५ जनाको समूहमा आएकी प्रतिभाले २ साता कथावाचन गर्ने कार्यक्रम रहेको छ । 

कथावाचक अनुराधा पाण्डेयलाई आजै बिदाई गरिएको छ । अनुराधाले गत बिहीबारदेखि महायज्ञस्थलमा श्रीमद्भागवत कथा प्रवचन गरेकी थिइन् । 

महायज्ञको पूर्वसन्ध्यामा पोखरामा चैत्र २९ गतेबाट नै श्रीमद्भागवत कथा प्रवचन कार्य सञ्चालित छ । फाउण्डेसनले बैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना गर्ने कोटीहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारेको छ ।  

बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।

कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मक कार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूति प्रदान गरिनेछ ।  जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0