पोखरा । गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । 

१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा आउट भए । उनले २१ बलमा ६ छक्का प्रहार गरे । दीपक डुम्रे २६ रनमा आउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शून्यमै पेभिलियन फर्किए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बाँस्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुुना प्लेयरअफ दी म्याच घोषित भए । यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । 

समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि आफूले संसद्‌मा आवश्यक पहल गर्ने सुनाए । उनले खेलको विकासका लागि राज्यको सहयोग अत्यावश्यक रहेको सुुनाउँदै खेलको भावनाअनुसार लाग्न अनुुरोध गरे ।

 एकेडेमीका अध्यक्ष ध्रुुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने बताएका छन् । उनले खेलाडीको विकासका लागि आफ्नै टिम बनाउने घोषणा गरेका हुन् । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अब अन्य खेलाडीको छनोट गरिने बताए । स्थायी संरचनाले आफ्नै टिम बनाउने गरि सुरुवात गरेको र खेलाडी अनुुबन्धन गरेर राख्ने सुनाए । उनले त्यसका लागि मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा सम्पर्क गर्नका लागि अनुरोध गरे । छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्ने र सेवा सुविधासहित अनुुबन्धन गर्ने सुनाए । 

चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो । यि बाहेक एकेडेमीले पुस १७ गते इन्डो नेपाल भलिबल, फुल कन्ट्याक्ट कराते, राष्ट्रिय जुुनियर टेबलटेनिस, बैशाख ८ गते राष्ट्रिय तेक्वान्दो, २० गते रोड रेस, जेठ ३ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0