पोखरा । पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडि बढिरहेको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचनको कार्य भइरहेको छ । गत चैत्र २९ गतेबाट कथावाचन सुरु भएको हो । बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी सङ्गीतमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । उनको प्रवचन सुन्न उल्लेख्य मात्रामा भक्तजनको सहभागिता भइरहेको छ । उनको कथा प्रवचन शुक्रबार समापन हुँदैछ । पाण्डेयले शुक्रबार बिहान १० बजेबाट कथा प्रवचन गर्ने र दिउँसो उनलाई कोटिहोम महायज्ञबाट बिदाई गरिने आयोजकले जानकारी दिएका छन्।
उनको बिदाइसँगै शुक्रबार चर्चित कथा वाचक श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन हुनेछ । देवी प्रतिभालाई पोखरामा स्वागत गर्ने कार्यक्रम रहेको छ । उनी काठमाडौँ आइसकेको र शुक्रबार बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्णमूर्तीले जानकारी दिएका छन् । दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ । स्वागत कार्यक्रममा सहभागी बन्न लागि सबैलाई आयोजकले आग्रह गरेको छ ।
गत चैत्र १७ गते देखि नै कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा श्रीमद्भागवत कथा प्रवचन लगायत अन्य कोटिहोम महायज्ञको प्रचारप्रसारका कार्यक्रमहरू भइरहेको छ । कोटिहोमकै अवसरमा राष्ट्रिय भजन प्रतियोगिता समेत हुँदैछ ।
बैशाख ११ गते वृहत साइकल प्रभातफेरी, बैशाख १२ गते वृहत ट्याक्सी प्रभातफेरी, बैशाख १३ गते वृहत मोटरसाइकल प्रभातफेरी, बैशाख १४ गते वृहत डुङ्गा प्रभातफेरी, बैशाख १५ गते वृहत पैदल यात्रा, बैशाख १६ गते वृहत मङ्गलमय कलश यात्रा हुनेछ ।
कोटिहोम महायज्ञको पूर्वाङ्ग बैशाख १७ गते बिहान गरिनेछ । बैशाख १९ गतेबाट हवनात्मक कार्य प्रारम्भ गरिनेछ भने सोही दिन अग्नि मन्थन, अग्नि कुण्डमा अग्नि प्रवेश गराउने, अग्निमा समिधा दान, अग्नी कुण्णमा आहूति प्रदान गरिनेछ । जेठ २६ गते कोटिहोम महायज्ञको विधिवत् पूर्णाहुति गरि अभिषेक र महाप्रसाद ग्रहण गर्ने कार्य गरिने आयोजक श्री मानव सेवा फाउण्डेसन नेपाल पोखराले जानकारी दिएको छ । महायज्ञ पोखरा १७ बिरौटामा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर क्षेत्रमा आयोजना गरिएको हो ।
