पोखरा । पोखरामा बिहीबार उत्प्रेरणा साँगीतिक मञ्च २०८२ कार्यक्रम सम्पन्न भएको छ । पोखराको रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टरले बिदाको समयको सदुपयोग गर्दै सङ्गीत सिकेका बाबुनानीलाई मञ्च प्रदान गर्नको लागि यो कार्यक्रमको आयोजना गरेको हो । पोखरा उद्योग वाणिज्य सङ्घको हल गैह्रापाटनमा आयोजित कार्यक्रमले वार्षिक परीक्षा दिएपछिको खाली समयको सदुपयोग गरेका बालबालिकाहरूले गीतसङ्गीत र बाद्यवादनसम्बन्धी कला प्रस्तुत गरेका थिए ।
ग्लोबल कलेजियट स्कुलका संस्थापक प्राचार्य बाबुराम पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राचार्य पन्तले बालबालिकाहरू स्वभावैले जिज्ञासु हुने भएकाले उनीहरूलाई नयाँ कुरा सिक्नका लागि अभिभावकले अवसरहरू खोजी गरिदिनुपर्ने बताए । पढाईलाई पनि सँगसँगै लैजान सक्नेगरि जोजिजूमा सञ्चालन हुँदै आएको कक्षाहरूबारे खुशी व्यक्त गर्दै यसप्रकारका प्रशिक्षणहरूले बालबालिकाहरूमा रहेको प्रतिभा पहिचानका साथमा नेतृत्व तथा व्यक्तित्व विकास समेत सहयोग पुग्ने बताए ।
कार्यक्रममा जोजिजू म्युजिक सेन्टरका व्यवस्थापक सानु जोजिजूले राम्ररी बुझ्ने भईसकेकालाई मात्र होइन साना बालबालिकालाई पनि भ्याकेसन प्याकेज क्लास सञ्चालन गर्नुपर्ने आवश्यकता महसुसपछि कक्षा सुरु गरेको स्मरण गरिन् । उनले ८ जना बालबालिकाबाट सङ्गीत कक्षा सुरु गरेको जनाउँदै हाल भ्याकेसन प्याकेज क्लासमा एक सय जनासम्म बालबालिकाहरूलाई प्रशिक्षण गर्दै आइरहेको बताइन् । जोजिजूमा यस्तो सङ्गीत कक्षा सुरु भएको ८ वर्ष पुगेको व्यवस्थापक सानु जोजिजूले बताइन् ।
जोजिजूको भ्याकेसन प्याकेज क्लासमा बालबालिकाहरूलाई भाषणकला, नृत्य, सङ्गीत तथा वाद्यवादन, फाइन आर्ट तथा अन्तरवार्ता लगायत विषयमा प्रशिक्षण दिने गरिन्छ । जोजिजू म्युजिक सेन्टर बालबालिकाहरूमा रहेको प्रतिभा पहिचानसँगै सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय बनिरहेको छ ।
कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक विनीत जोजिजूले सेन्टरले गर्ने गतिविधिको बारेमा जानकारी गराएका थिए । नयाँ प्रतिभालाई सजिलो होस् भन्ने उद्देश्यले २०६० सालमा जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूल स्थापना गरी नवप्रतिभालाई अघि बढ्न हौसला प्रदान गरिरहेको उनले खुलाए । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल सहित सङ्गीत क्षेत्रलाई माया गर्ने शुभचिन्तक, प्रशिक्षार्थी र अभिभावक उपस्थित भएका थिए । उनीहरू बालबालिकाको प्रतिभा सुन्दै रमाउँदै हौसला समेत प्रदान गरे ।
