पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीले नयाँ वर्ष २०८२ सालको भित्रे पात्रो सार्वजनिक गरेको छ । बिहीबार पोखरा न्युरोडमा रहेको होटल रोयल प्यालेसमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम मार्फत भित्तेपात्रो सार्वजनिक गरिएको हो ।

भित्तेपात्रोको कार्यक्रमका प्रमुख अतिथि कास्की आदर्श समाज साउदी अरेबियाका निवर्तमान अध्यक्ष अम्मर सापकोटा र विशिष्ट अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा हालका संरक्षक प्राज्ञ प्रजापति पराजुली लगायतले सार्वजनिक गरेका हुन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्की आदर्श समाज साउदी अरेबियाका निवर्तमान अध्यक्ष अम्मर सापकोटाले लोक दोहोरी क्षेत्रको भविष्य उज्ज्वल रहेको बताए । उनले लोक दोहोरी कलाकारलाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । लोक दोहोरी क्षेत्रलाई मन पराउने धैरै जना प्रवासमा रहेको भन्दै विभिन्न कार्यक्रम मार्फत कलाकारलाई उनीहरू समक्ष पुर्‍याउने गरिएको समेत खुलाए ।

 प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पराजुलीले प्रतिष्ठान कास्कीले गरेका गतिविधिको प्रशंसा गरे । उनले लोक दोहोरी गीतको सुरुवात कास्कीको पोखराबाट भएको दावी गर्दै त्यसका १८ वटा प्रमाण आफूसँग रहेको खुलाए । प्रतिष्ठान कास्कीसँगको सहकार्यमा लोक दोहोरी गीतका विभिन्न ऐतिहासिक विषयवस्तुलाई समेटेर पुस्तक नै प्रकाशन समेत गरेको बताए । अधिवेशनको बेलामा पदको लागि उपस्थिति हुने तर कार्यक्रमहरूमा अनुपस्थित हुने प्रति आक्रोशित बनेका उनले आगामी अधिवेशनमा त्यसको मूल्याकंन गर्न सुझाए । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष तथा केन्द्रका वर्तमान प्रशासनिक सचिव जीवन दाहाल, सल्लाहकार एवं प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय उप महासचिव चोलेन्द्र पौडेल, संस्थापक अध्यक्ष तथा संरक्षक तारापति सुवेदी, प्रतिष्ठान गण्डकीका अध्यक्ष राजन कार्की, कानुनी सल्लाहकार नारायण शर्मा, संरक्षक याम गुरुङ, आजीवन सदस्य राधा कुँवर, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, कार्यबाहक सचिव सुनिल गायक लगायतले लोक दोहोरी प्रतिष्ठानको बारेमा बोल्दै नयाँ वर्षको शुभकामना दिएका थिए ।

 प्रतिष्ठान कास्कीका द्वितीय उपाध्यक्ष दीपक अधिकारीको संयोजकत्वमा गठित समितिले नयाँ वर्ष २०८२ को भित्तेपात्रो तयार पारेको थियो । समितिमा रहेका तथा क्यालेन्डर प्रकाशनमा सहयोग गर्नेलाई सो अवसरमा सम्मान समेत गरियो । प्रतिष्ठानका केन्द्रीय सदस्य सुरेन्द्र गुरुङ नेपाल रेडक्रस सोसाइटी कास्कीको उपसभापतिमा निर्वाचित भएकोमा बधाइ ज्ञापन समेत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानमा आवद्ध लोक दोहोरी कलाकार र शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0