पोखरा । कास्कीको रूपा गाउँपालिका वडानम्बरस्याक्लुङकोट डिठ्ठा गाउँमा स्याक्लुङकोट होमस्टे’ (घरवास) सञ्चालनमा आएको छ । जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर परको स्याक्लुङकोट डिठ्ठा  गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतिमा आधारित होमस्टे सञ्चालनमा आएको हो ।

होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले शिलालेख अनावरण गरेर उद्घाटन गरे । पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेंसी हुँदै १४ सय मिटर उचाइको स्याक्लुङकोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । यहाँबाट मनोरम अन्नपूर्ण हिमशृङ्खला र पोखरा तर्फको मनोरम दृष्य देख्न सकिन्छ । 

सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थाले पछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ ।  ८५ घरधुरी रहेको स्याक्लुङकोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउँछन् । अहिले भने गाउँमा पुग्ने अधिकांश सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्‍याइएको छ । 

अहिले भएका घर पनि बसाइ जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे सञ्चालन गर्न लागिएको अगुवा क्याप्टेन तेजबहादुर गुरुङ बताउँछन् । होमस्टे सञ्चालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ । गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे सञ्चालन गरेर केही गर्न किन्छ की भनेर होमस्टे सञ्चालन गर्न गइरहेका छौँ, उनले भने । 

५ घरबाट होमस्टे सुरुवात गरिएको छ । एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको स्याक्लुङकोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताए । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको हो ।
होमस्टेको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताए । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उनको भनाई थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उनले भने । 

होमस्टे उद्घाटन कार्यक्रममा बोल्दै रूपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादनर संस्कृती प्रवद्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रूपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रूपा गाउँपालिका वडानम्बर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लुङकोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लुङकोटका समस्या र सम्भावना वारे भनाई राखेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0