पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्कीले नयाँ वर्ष २०८२ सालको क्यालेण्डर प्रकाशन गरेको छ । क्यालेन्डरको शुक्रबार एक कार्यक्रमबीच गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, प्रदेश सभा सदस्य प्रकाश बराल, युनियन कास्की अध्यक्ष सुरेश कुमार श्रेष्ठ लगायतले सार्वजनिक गरे ।
पोखराको हस्पिटलचोक स्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको तालिम हलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री थापाले कर्मचारीले सुशासन र सेवा प्रवाहमा बढी ध्यान दिनुपर्ने बताए । सरकार सफल हुने की असफल हुने भन्ने हात स्थायी सरकारको रुपमा रहेका कर्मचारीमा रहने उनले उल्लेख गरे । कर्मचारीका नेतृत्वमा बस्ने व्यक्तिहरूले आफूलाई मात्र केन्द्रीकृत नगरी समग्र कर्मचारीको हक हितको लागि लड्नुपर्नेमा उनको जोड थियो ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले युनियनबाट टाढा गएका साथीहरूलाई नजिक ल्याउन प्रयास गर्नुपर्ने बताए । आफूलाई मात्र केन्द्रीकृत गरेर काम गर्नको लागि मात्र युनियनकर्मी त भएनौ भन्ने प्रश्न उठ्ने गरेको भन्दै त्यसमा ध्यान दिएर काम गर्न उनले आग्रह गरे। देशलाई सही बाटोमा हिँडाउनका लागि कर्मचारी र राजनीति कर्मी मिलेर जनताका निराशालाई आशामा परिणत गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कास्की अध्यक्ष सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक बहादुर रावल, माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारी, युनियन गण्डकीका निवर्तमान अध्यक्ष दीपक रेग्मी, केन्द्रीय सदस्य चित्रा ढकाल, तनहुँ जिल्ला अध्यक्ष नारायण अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष बलराम भुगाइ, कास्कीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार डार्बिन लम्साल, कास्की उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन शर्मा लगायतले बोलेका थिए ।
सोही कार्यक्रममा विभिन्न जिल्लाबाट पोखरामा सरुवा भएर आएका नेपाल निजामती कर्मचारी युनियनमा आवद्ध कर्मचारीलाई स्वागत, विभिन्न पदमा पदोन्नति भएका कर्मचारीलाई बधाई तथा सेवा निवृत्त भएका कर्मचारीलाई बिदाइ समेत गरिएको थियो ।















