पोखरा । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कास्कीको आयोजनामा शुक्रबार पोखरामा र्याली तथा सभा आयोजना गरियो । ६० औँ अन्तराष्ट्रिय रङ्गभेद तथा जातिभेद उन्मूलन दिवस २१ मार्चको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य जगत विश्वकर्माले विभेद अन्त्य गर्नको लागि आम उत्पीडित दलित समुदायको एकता र सामूहिक आन्दोलनको खाँचो रहेको औँल्याए । विभेदको समूल अन्त्य नगरेसम्म मानवीय आत्म सम्मानलाई सुरक्षा गर्न नसकिने बताए ।
पूर्व खेलकुद मन्त्री समेत रहेका विकले उत्पीडित दलित समुदायको एकताले मात्र नहुने भन्दै आजको अवस्थालाई समीक्षा गरेर आन्दोलनलाई निर्णायक विन्दुमा लैजानुपर्नेमा जोड दिए । योजना बनाएर अगाडि बढेमा मात्र लक्ष्यमा पुग्न सकिने उनको भनाइ थियो । दलित मात्र नभएर नेपाली समाज विभिन्न हिसाबले जातीय उत्पीडनमा रहेको उनको धारणा थियो ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ कास्कीका अध्यक्ष मनबहादुर लाम्गादेको अध्यक्षतामा भएको कार्यक्रममा दलित मुक्ति मोर्चाका केन्द्रीय उपसचिव भीम बिक क्षितिज, फेडो कास्की अध्यक्ष लक्ष्मी खाती, पोखरा १४ का वडा सदस्य तनुजा नेपाली, कार्यक्रम संयोजक देवी विश्वकर्मा, दलित अधिकारकर्मी दुर्गा बहादुर सुनार, किसान सेवा, भीम नेपाली, बलराम लामगादे लगायतले बोलेका थिए ।
दलित सङ्घर्ष समिति कास्कीको समन्वयमा पोखराको साइमन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा २ सय जनाको हाराहारीमा सहभागिता रहेको थियो । सभा अगाडि पोखराको पृथ्वीचोकबाट र्याली निकालिएको थियो । र्याली सभागृहचोक, सिर्जनाचोक हुँदै साइमन पार्टी प्यालेसमा पुगेको थियो । सोही कार्यक्रममा कास्कीका स्थानीय निकायका दलित महिला जनप्रतिनिधिको क्षमता वृद्धि तथा नेतृत्व विकासबारे अन्तरक्रिया तथा सचेतना कार्यक्रम समेत गरिएको बताइएको छ ।
