पोखरा । कास्कीको रुपा गाउँपालिकाले पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै दूध उत्पादन लागत घटाउने उद्देश्यले विभिन्न अनुदान तथा सामग्री वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम तथा गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत ‘रुपा समृद्धिको लागि सस्तो लागतमा दूध उत्पादन (सेतो रुपा : समृद्ध रुपा)’ परियोजनामार्फत पशु सेवा क्षेत्रका कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार परियोजनाअन्तर्गत उन्नत जातका बाख्रा खरिदमा अनुदान, १५ लिटर क्षमताका एसएस क्यान वितरण तथा काउ म्याट वितरण कार्यक्रम सञ्चालन गरिनेछ।
गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार उन्नत जातका बाख्रा खरिद अनुदान कार्यक्रमका लागि दर्ता भएका कृषि समूह तथा सहकारीलाई प्राथमिकता दिइनेछ। यसअघि अनुदान प्राप्त नगरेका कृषकलाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
त्यसैगरी, १५ लिटर क्षमताका एसएस क्यान र काउ म्याट वितरण कार्यक्रमका लागि दर्ता भएका व्यावसायिक कृषि फार्म, कृषि समूह तथा सहकारीले प्रस्ताव पेस गर्न सक्नेछन्। समूह तथा सहकारीमार्फत गाईपालन गर्दै नियमित दूध बिक्री गर्ने कृषकलाई सामग्री वितरण गरिने गाउँपालिकाले जनाएको छ।
यी कार्यक्रमहरू ‘रुपा समृद्धिको लागि सस्तो लागतमा दूध उत्पादन (सेतो रुपा : समृद्ध रुपा) परियोजना सञ्चालन कार्यविधि, २०८३’ बमोजिम सञ्चालन हुनेछन्।
कार्यक्रममा सहभागी हुन इच्छुक तथा तोकिएका मापदण्ड पूरा गरेका आवेदकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् २०८३ मंसिर ९ गतेसम्म कार्यालय समयभित्र आवश्यक कागजातसहित रुपा गाउँपालिकाको पशु सेवा शाखामा प्रस्ताव दर्ता गरिसक्नुपर्नेछ।
प्रस्ताव पेस गर्दा अनुसूची २ बमोजिमको निवेदन, अनुसूची ३ अनुसारको संक्षिप्त कार्ययोजना, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सहकारी, समूह वा फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, नवीकरण प्रमाणपत्र, प्यान/भ्याट दर्ता प्रमाणपत्र तथा गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। साथै कार्यक्रम माग गर्ने निर्णयको प्रतिलिपि र अनुसूची ४ अनुसारको समान प्रकृतिको अनुदान नलिएको स्वघोषणासमेत आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले पशुपालन व्यवसायमा आबद्ध कृषक, कृषि समूह, सहकारी तथा व्यावसायिक कृषि फार्मलाई कार्यक्रमको मापदण्डअनुसार प्रस्ताव पेस गर्न आग्रह गरेको छ।
अध्यक्ष ओझाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य पशुपालन व्यवसायलाई व्यवस्थित बनाउँदै दूध उत्पादनको लागत न्यूनीकरण गर्ने र स्थानीय कृषकको आयआर्जनमा सहयोग पुर्याउने रहेको छ।














