पोखरा । तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला तथा प्रतिबन्धित सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको भए पनि बजारमा अझै बिक्री भइरहेको पाइएपछि महानगरले अनुगमनलाई निरन्तरता दिएको हो।
महानगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको अभियानको प्रभावस्वरूप बजारमा प्लास्टिकका फूलमालाको बिक्रीमा उल्लेख्य कमी आएको जनाएको छ। यस वर्ष पनि औपचारिक सूचना जारी गर्दै व्यवसायीलाई प्रतिबन्धित सामग्री बिक्री नगर्न आग्रह गरेको महानगरले बजारको वास्तविक अवस्था बुझ्न वडा नम्बर १ र २ का विभिन्न स्थानमा अनुगमन गरेको हो।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाका अनुसार विगत तीन वर्षको तुलनामा यस वर्ष प्लास्टिकका फूलमालाको बिक्री–वितरणमा ८० प्रतिशतभन्दा बढी कमी आएको छ। व्यवसायीको सहयोग, बाहिरबाट हुने आपूर्तिमा कमी र उपभोक्ताको घट्दो प्रयोगका कारण सकारात्मक परिवर्तन देखिएको उनको भनाइ छ।

उनका अनुसार अनुगमनका क्रममा केही पसलमा अझै प्लास्टिकका फूलमाला बिक्रीका लागि राखिएको भेटिएपछि करिब १० हजार रुपैयाँ बराबरका माला जफत गरिएको छ। केही व्यवसायीलाई भने बिक्री नगर्ने सर्तमा ती सामग्री पसलबाट हटाउन लगाइएको छ।
कडरियाले सरकारले २०७९ सालमै राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाइसकेको उल्लेख गर्दै महानगरले निरन्तर सूचना र सचेतनामार्फत व्यवसायी तथा उपभोक्तालाई जानकारी गराउँदै आएको बताए।

अनुगमनका क्रममा तिहारमा प्रयोग हुने भाइटीकाका सामग्री, भाइमसला, मिठाई तथा झिलिङ्गामा प्रयोग गरिने रङको गुणस्तर र मूल्यसमेत परीक्षण गरिएको थियो। विशेषगरी रातो, पहेँलो, नीलो र हरियो रङ मिसाएर बिक्रीका लागि राखिएका झिलिङ्गा भेटिएको कडरियाले जानकारी दिए।
खाद्य प्रयोजनका लागि उपयुक्त नभएका रङ पकाएर खाने खाद्यवस्तुमा प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले त्यस्ता रङ प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको उनले बताए। विगतको तुलनामा रङको प्रयोग घटेको देखिए पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ। पछिल्लो समय रङ नमिसाइएका सेता झिलिङ्गाको प्रयोग बढ्दै गएको पाइएको छ।’

महानगरको सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बरालले अनुगमनका क्रममा प्लास्टिकका माला, लेबल उल्लेख नगरिएका भाइमसला तथा अस्वाभाविक रङ प्रयोग गरिएका झिलिङ्गा बिक्रीका लागि राखिएको पाइएको बताइन्। नेपाल सरकारले प्रतिबन्ध लगाएका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिइन्।
महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा भएको अनुगमनका क्रममा व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिइएको थियो। उपप्रमुख गुरुङले प्लास्टिकजन्य फूलमालाले वातावरण प्रदूषण बढाउने भएकाले यसको बिक्री–वितरण रोक्न महानगरले अभियान सञ्चालन गर्दै आएको बताइन्।

विगतका वर्षमा अनुगमनका क्रममा व्यवसायीबाट विभिन्न गुनासा आउने गरे पनि यस वर्ष त्यस्ता गुनासा तुलनात्मक रूपमा कम देखिएको उनको भनाइ छ। महानगरको निरन्तर अनुगमन र सचेतना अभियानले व्यवसायी तथा उपभोक्तामा सकारात्मक जागरण ल्याएको उल्लेख गर्दै उनले यसलाई पूर्ण रूपमा सफल बनाउन सबै पक्षको साथ आवश्यक रहेको बताइन्।
गुरुङले व्यवसायीलाई पसल दर्ता तथा नवीकरण अद्यावधिक राख्न, बिक्री गरिने वस्तुमा अनिवार्य लेबल र मूल्य उल्लेख गर्न, गुणस्तर तथा मूल्यमा पारदर्शिता कायम गर्न र म्याद नाघेका वा प्रतिबन्धित सामग्री बिक्री नगर्न आग्रह गरिन्। उनले प्लास्टिकका कृत्रिम फूलमालाको विकल्पमा स्थानीयस्तरमा उत्पादित प्राकृतिक फूलमाला प्रयोग गर्न तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न उपभोक्ता र व्यवसायी दुवैलाई अनुरोध गरिन्।

नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) बमोजिम राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलका गुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाएको हो। उक्त व्यवस्थाविपरीत कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६ को दफा २२ को उपदफा (४) अनुसार १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

अनुगमनमा महानगरको आर्थिक महाशाखा प्रमुख मनहर कडरिया, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगर समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराकी अधिकृत सरस्वती गिरी, सहकारी तथा उद्योग शाखाकी अधिकृत कल्पना बराल तथा पत्रकारहरूको सहभागिता थियो।
महानगरपालिकाले वातावरण संरक्षण, उपभोक्ताको स्वास्थ्य तथा हित र स्थानीय फूल उत्पादक किसानको प्रोत्साहनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।














