पोखरा । पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, गण्डकी प्रदेश कार्यालयमा सञ्चालनमा आएको सहुलियत पसलमा एक महिनाको अवधिमा १ करोड ५० लाख २२ हजार ७ सय ७८ रुपैयाँको कारोबार भएको छ । जस अन्तरगत सबैभन्दा बढी खुल्ला चिनिको विक्रि भएको छ । यो अवधिमा ६८ लाख ५३ हजार ५ सय मुल्य बराबरको खुल्ला चिनि विक्री भएको कार्यालय प्रमुख सागर शेरचनले जनाए ।

उनका अनुसार ६० लाख ६ हजार ५५ रुपैयाँ बराबरको विभिन्न प्रकारका चामल, ९ लाख ७१ हजार ९ सय ८५ मुल्य बराबरको खाने तेल, ६ लाख ३२ हजार ८ सय ८ रुपैयाँ बराबरको आयोनुन र ३ लाख ३९ हजार ८ सय २० रुपैया बराबरको मैदा तथा पिठो विक्रि भएको छ । नेपाल सरकार तथा केन्द्रीय कार्यालयको निर्देशनअनुसार गत असोज १ गतेदेखि सञ्चालनमा आएको सहुलियत पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ।

पसलमा दैनिक उपभोग्य वस्तुका ११ वटा आइटम बिक्रीका लागि राखिएका छन्। चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएपछि दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको भिड अघिल्लो वर्ष भन्दा बढी पाइएको प्रमुख शेरचनले बताए। दशैं समयमा भिड बढ्दा दुइवटा काउन्टर मार्फत सेवा दिइएको उनले बताए ।

कार्यालय प्रमुख शेरचनका अनुसार बजारमा चिनीको मूल्य महँगो भएका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले सहुलियत पसलमा प्रतिकेजी १ सय रुपैयाँमा चिनी बिक्री भइरहेको छ। एक व्यक्तिले बढीमा ६ केजीसम्म चिनी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। सबैलाइ सहुलियत पसलको फाइदा लिन उनको आग्रह छ ।

त्यस्तै, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिइएको छ। प्रतिकेजी २४ रुपैयाँका दरले एक व्यक्तिलाई बढीमा ६ केजीसम्म नुन उपलब्ध गराइने शेरचनले बताए। सहुलियत पसलमा विभिन्न प्रकारका चामलसमेत बिक्रीका लागि राखिएको छ। जिरा मसिनो चामल २५ केजीको बोरालाई २ हजार ४ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी लङ ग्रेन बेहुली बासमती चामल २० केजीको बोराको मूल्य ३ हजार रुपैयाँ तथा लङ ग्रेन नातिनातिनी बासमती चामल २० केजीको बोराको मूल्य ३ हजार ५ सय २५ रुपैयाँ तोकिएको छ। सस्तो मूल्यको चामलका रूपमा एसटिसी सोना चामल २५ केजीको बोरालाई १ हजार ६ सय ५० रुपैयाँमा बिक्री भइरहेको कार्यालय प्रमुख शेरचनले जानकारी दिए। शान्ति तोरीको तेल प्रतिलिटर ३ सय ८० रुपैयाँमा उपलब्ध गराइएको छ। यसका अतिरिक्त पिठो र मैदासमेत सहुलियत पसलमा बिक्रीका लागि राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0