पोखरा । कास्की प्रहरीले लागूऔषध सेवन, सार्वजनिक स्थानमा अशान्ति, अभद्र व्यवहार तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न रहेको आशंकामा सञ्चालन गरेको स्वीप अपरेसनबाट हालसम्म ३८० जना र ८१ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयले २०८३ साल वैशाख ९ गते साँझदेखि पटक–पटक स्वीप अपरेसन सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागूऔषध सेवन, समाजमा अशान्ति फैलाउने, सार्वजनिक सवारीसाधनमा जबर्जस्ती गर्ने, झोला तान्ने तथा अफलाइन पठाओ र इनड्राइभमार्फत सेवा दिँदा बढी रकम असुल्ने जस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
अपरेसनका क्रममा नियन्त्रणमा लिइएकामध्ये १२ जनाविरुद्ध लागूऔषधसम्बन्धी मुद्दा चलाइएको छ भने ४८ जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । त्यसैगरी ४३ जनालाई ट्राफिक कारबाही गरिएको विवरणमा उल्लेख छ ।
सार्वजनिक सुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने उद्देश्यले अपरेसनलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
















